समाज


कोरोना: प्रादेशिक प्रयोगशालापछि टेकुमा पुन: परीक्षण गर्दा नतिजा किन उल्टो?

कोरोना: प्रादेशिक प्रयोगशालापछि टेकुमा पुन: परीक्षण गर्दा नतिजा किन उल्टो?

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ६:१०,

घटना १
केही दिनअघि कैलालीको धनगढीस्थित प्रयोगशालामा पीसीआर विधिबाटै नमुना (स्वाब) परीक्षण गर्दा रुकुम पश्चिमका दुई व्यक्ति कोरोना संक्रमित पुष्टि भए।

तर पुनः परीक्षणका लागि उनीहरूकाे स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो। नजिता ठीक उल्टो आयो। अर्थात् भारतबाट फर्किएका ती दुई पुरुषमा कोरोना संक्रमण रहेनछ।

घटना २
यस्तै सर्लाहीका १४ वर्षीय किशोरको स्वाब सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरियो। रिपोर्ट आयो- नेगेटिभ अर्थात् कोरोना छैन भन्ने। त्यही भएर उनलाई क्वारेन्टिनबाट घर पठाइयो। घरमा ७ दिन बिताइसकेपछि सर्लाही जिल्ला प्रशासनलाई खबर आयो- उनी त कोरोना संक्रमित रहेछन्।

त्यसैले बिहीबार राति मात्रै उनलाई हतारहतार घरबाट निकालेर वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ। उनी कोरोना संक्रमित रहेको पुष्टि पनि टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको हो।

यी प्रतिनिधि दुई घटनाले के देखाइरहेका छन् भने प्रदेशस्तरमा सञ्चालन गरिएका प्रयोगशाला र काठमाडौं (टेकु) मा रहेको केन्द्रीय प्रयोगशालाले गरेका परीक्षणका नतिजा ठीक उल्टा आइरहेका छन्।

यस्तो किन त?

शुक्रबार बिहान नेपालखबरले राखेको जिज्ञासामा टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन्, ‘यस्तो त हुन्छ, यो साइन्स हो, यसैमा हामीले धेरै वर्ष पढेका छौं, तपाईंलाई बुझाउन गाह्रो हुन्छ।’

तैपनि कस्तो अवस्थामा यस्तो हुन्छ त जस्तै....?

‘यो टेक्नोलजी कुरा हो, यस्तो त हुन्छ,’ डा. झाले भनिन्, ‘तपाईंलाई थाहै होला, एउटा अस्पतालमा जाँच्दा एउटा रिपोर्ट आउँछ अर्काे अस्पतालमा जाँच्दा अर्काे। अनि सबै विशेषज्ञ बसेर छलफल गरेर टुंगोमा पुग्ने गरिन्छ।’

कि प्रदेश र केन्द्रको प्रयोगशालामा देखिएको व्यवस्थापनको अन्तर हो यो?

‘त्यस्तो होइन, केन्द्र र प्रदेशको प्रविधि र जनशक्ति उस्तै हुन्। एक/दुइटामा यस्तो हुन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन्, ‘यो टेक्निकल कुरा हो, यस्तो किन हुन्छ भन्नेबारे डा. रुना झालाई सोध्नोस् न है।’

संयोग मात्रै कि अन्य केही?
हुन त सरकारी मान्छेले दाबी गरेजस्तै विज्ञान-प्रविधि भएकाले कहिलेकाहीं गडबड पनि हुन सक्छ। तर प्रदेश र केन्द्रको प्रयोगशालाबीचकै परीक्षणमा चाहिँ किन ठीक उल्टो अवस्था देखिइरहेको छ?

यो संयोग मात्रै हो कि अरू नै केही? त्योचाहिँ अध्ययनकै विषय बनेको छ।

याे पनि: 

जनकपुर प्रादेशिक अस्पतालको रिपोर्टले बढायाे सर्लाहीमा काेराेना जाेखिम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad