अमेरिकाको अनुसन्धान विभागका एक वरिष्ठ अधिकारीले नयाँ देखिएको कोरोना भाइरसलाई घामले छिटै नष्ट गर्न सक्ने बताएका छन्।
त्यो अध्ययनलाई बाह्य मूल्यांकन गरी थप पुष्टि गर्न बाँकी रहेकोले त्यससम्बन्धी प्रकाशन सार्वजनिक भने नगरिएको उनले बताएका छन्।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका विज्ञान तथा प्रविधि सल्लाहकार विलियम ब्रायनले व्हाइट हाउसमा पत्रकारहरुसँग सरकारी वैज्ञानिकहरुले गरेको अध्ययनले आशावादी बनाएको बताएका हुन्।
उनका अनुसार सो अध्ययनले अल्ट्राभायलेट किरणबाट रोग फैलाउने प्याथोजिनलाई निकै सशक्तरुपमा प्रभाव पार्नसक्ने देखिएपछि आउने वर्षासम्ममा यो भाइरसको संक्रमणलाई कम गर्न सकिने आशा बढेको हो।
‘सतह र हावामा रहने त्यो भाइरसलाई मार्नसक्ने सूर्यकिरणमा जुन शक्ति देखियो त्यो हाम्रो आजका मितिसम्म गरिएको अवलोकनको सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले संवाददाताहरुलाई बताए। ‘त्यसैगरी तापक्रम र आद्र्रतामा पनि त्यस्तै प्रभाव देखेका छौं।’
उनका अनुसार सो भाइरसका लागि बढ्दो तापक्रम र आद्र्रता सामान्यतया कम अनुकुल भएको देखियो।
तर सो अध्ययनसम्बन्धी दस्तावेज जारी गरिसकिएको छैन किनभने स्वतन्त्र विज्ञहरुले अहिले त्यसको अनुसन्धान विधिबारे टिप्पणी गर्न बाँकी नै छ।
अल्ट्राभायलेटका कारण भाइरसको जेनेटिक (अनुवांशिक) तत्व र त्यसको संख्या वृद्धि गर्ने क्षमता नष्ट गर्ने कुरा त पहिले देखि थाह भएकै हो।
प्रयोगशालामा प्रयोग गरिएको अल्ट्राभायलेट प्रकाशको गहिराई र फैलावट, त्यसको सुक्ष्मता आदिबारे भने अझै प्रष्ट पार्न बाँकी छ।
‘यो परीक्षण कसरी गरिएको थियो र त्यसका नतिजा कसरी मापन गरियो, यो समेत जान्न पाए राम्रो हुन्थ्यो,’ टेक्सास एएन्डएम युनिभर्सिटी–टेक्सरकानाका वायोलोजिकल साइन्सेसका अध्यक्ष वेन्यामिन न्युम्यानले भने, ‘यो परीक्षण राम्रो भएको छैन भन्ने हैन तर भाइरस गणना गर्ने बिभिन्न बिधि छन् तर तीमध्ये कुन पक्षमा तपाईको रुची छ भन्ने कुरामा भर पर्छ।’
ब्रायनले नेशनल वायोडिफेन्स एनालिसिस एन्ड काउन्टरमेजर्स सेन्टर मेरिल्यान्डमा गरिएको परीक्षणको निष्कर्षबारे पनि जानकारी गराएका थिए।
तापक्रम ७० देखि ७५ डिग्री फरेनहाइट (२१ देखि २४ डिग्री सेल्सियस) र २० प्रतिशत आद्र्रता हुँदा नचुहिने सतहमा भाइरसको अर्ध–जीवन (हाफलाइफ) १८ घण्टा थियो। ढोकाका ह्यान्डल र स्टेनलेस स्टिल आदिमा यो परीक्षण गरिएको थियो।
तर त्यो आद्र्रतामा ८० प्रतिशतसम्म वृद्धि हुँदा त्यहि हाफलाइफ ६ घण्टामा झर्यो र त्यसमा सूर्यको प्रकाश थप्दा २ मिनेटसम्ममा झरेको थियो।
भाइरसलाई ७० देखि ७५ डिग्रीको तापक्रम र २० प्रतिशत आद्र्रता भएका बेला हावामा छाड्दा त्यसको हाफलाइफ एक घण्टामा झरेको थियो।
घाम थपिएको बेला यो डेढ मिनेटमा झरेको थियो।
यस आधारमा ब्रायनको निष्कर्ष थियो, ‘गर्मीको अवस्थामा संक्रमणलाई घटाउन अनुकुल अवस्था सिर्जना हुनेछ।’
तर, त्यसको अर्थ सो भाइरस निमिट्यान्न नहुने र सोसल दूरी कायम गर्ने नियम त पालना गर्नैपर्ने उनले प्रष्ट्याए।
‘गर्मीमा भाइरस मर्छ र हामी ढुक्क भए हुन्छ भन्नु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हुनेछ,’ उनले भने।
यसअघिका अध्ययनले पनि सो भाइरसलाई गर्मीभन्दा जाडो मौसम सहज हुने निष्कर्ष निकालिएको थियो।
स्वाशप्रश्वासका कणहरु चिसो मौसममा हावामा धेरैबेर रहनसक्छन् भने तातो सतहमा भाइरसहरु धेरै छिटो नष्ट हुन्छन् किनभने तिनीहरुलाई ढाकेको वोसीय सुरक्षात्मक सतह (लेयर) छिटै सुक्छ।
अमेरिकी अधिकारीहरुले गर्मीका बेला कोभिड–१९ का बिरामी कम भए पनि त्यसपछि फेरि सिजनल फ्लूजस्तै संक्रमण बढ्नसक्छ।
Shares

प्रतिक्रिया