समाज


तराईमा आज शक्तिशाली हावाहुरीसहित वर्षाको सम्भावना, सजग रहन मौसमविद्को सुझाव

तराईमा आज शक्तिशाली हावाहुरीसहित वर्षाको सम्भावना, सजग रहन मौसमविद्को सुझाव

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १:३४,

आज (शुक्रबार) विशेषगरी मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘यसमा पनि पहाडमा भन्दा मध्य र पूर्वका तराईमा हिजो/अस्तिको तुलनामा अलि शक्तिशाली खालकै हावाहुरीसहित वर्षा हुने देखिएको छ,’ मौसमविद् कँडेलले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘मेघगर्जन/चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।’

उनका अनुसार आज खासगरी भैरहवापूर्व यस्तो खालको मौसम बदली हुने देखिएको हो।

माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: मध्य र पूर्वी भू-भागका धेरै  र पश्चिमी भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन/चट्याङ/असिना  र हावाहुरीसहित वर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

‘अहिले बिहान मौसम सामान्य रहे पनि दिउँसो १/२ बजेपछि बदली हुनेछ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘थप अध्ययन गरेर हामी दिउँसो ३ बजेतिर सतर्कताका लागि विशेष बुलेटिन प्रकाशन गर्छाैं होला।’

पहाडी भेगअन्तर्गत आज काठमाडौं पनि हावाहुरी/चट्याङसहित असिना पानी पर्ने सम्भावना छ। तर तराईको तुलनामा पहाडी क्षेत्रमा अलि कमजोर खालको हावाहुरी/वर्षाको सम्भावना रहेको उनले बताइन्।

स्थानीय वायु र पश्चिमी वायु मिसिनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत आइरहेकाले मौसम बदली गराउने प्रणाली शक्तिशाली बनेको मौसमविद्को भनाइ छ।

‘अहिले तल्लो सतहमा रहेको वायु र माथिल्लो तहमा रहेको वायुसँग मिल्न पुगेको छ,’ मौसमविद् कँडेलले भनिन्, ‘यस्तो हुँदा सिस्टम शक्तिशाली बन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मौसमको अवस्था आगामी आइतबारसम्मै यस्तै रहने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad