समाज


ट्रम्प राष्ट्रपति बनेको ७ महिनामा यौनसहित विभिन्न अपराधमा अमेरिकाबाट निकालिए ७ नेपाली

ट्रम्प राष्ट्रपति बनेको ७ महिनामा यौनसहित विभिन्न अपराधमा अमेरिकाबाट निकालिए ७ नेपाली

नेपालखबर
असोज २२, २०८२ बुधबार १०:३७, काठमाडौँ

डोनाल्ड ट्रम्प दोस्रोपटक २०२५ जनवरीमा राष्ट्रपति बनेयता जुलाई महिनासम्म विभिन्न अपराधमा ७ नेपालीलाई अमेरिकाबाट निकालिएको छ। यसमा धेरैजसो यौन अपराधमा संलग्न छन्।

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) बाट प्राप्त विवरणअनुसार यौन दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, यौन अपराध, चोरी, जबरजस्ती निवास प्रवेश, आक्रमण, रक्सी खाएर गाडी चलाएको र अनलाइनमार्फत नाबालिगको यौन शोषणलगायत अभियोगमा ७ नेपाली पुरुषलाई अमेरिकाले देशनिकाला गरेको हो। 

सन् २०२४ जुलाई २३ मा यौन दुर्व्यवहारमा दोषी ठहरिएका ३९ वर्षीय नेपाली पुरुषलाई २०२५ अप्रिल २४ मा अध्यागमन अदालतले देशनिकाला गर्ने आदेश दिएको थियो। त्यसपछि उनलाई जुलाई १५ मा न्युयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) बाट नेपाल पठाइएको थियो।

२०२३ जुलाई २४ मा यौन अपराधमा दोषी ठहरिएका ३६ वर्षीय नेपाली पुरुषलाई २०२५ जनवरी १७ मा अदालतले देशनिकालाको आदेश दिएको थियो। उनलाई मार्च ६ मा नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फिर्ता पठाइएको थियो। उनी २०१५ जुलाई १६ मा अमेरिका आइपुगेका थिए र मेरिल्यान्डमा बस्थे।

२०२३ मेमा चोरी तथा निवासमा जबरजस्ती प्रवेश मुद्दामा दोषी ठहरिएका २८ वर्षीय नेपाली पुरुषलाई २०२० मा अध्यागमन अदालतले अमेरिकाबाट निकाल्ने आदेश दिएको थियो। आदेशका बाबजुद उनी अमेरिकामै बसिरहेका थिए। उनलाई जुन १० मा एरिजोनाबाट नेपाल पठाइएको थियो।

२०२३ मा आक्रमण घटनामा दोषी ठहरिएपछि ३४ वर्षीय नेपाली पुरुषलाई २०२५ फेब्रुअरी १३ मा अध्यागमन अदालतले देश निकालाको आदेश दिएको थियो। २०१४ मा पहिलोपटक अमेरिका आएका ती व्यक्तिलाई अप्रिल २९ मा लोगान अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल पठाइएको थियो।

२०२४ डिसेम्बर ९ मा सामाजिक सञ्जालमार्फत नाबालिगलाई अश्लील उद्देश्यका लागि फसाएको मुद्दामा दोषी ठहरिएका ३० वर्षीय नेपाली पुरुषलाई २०२५ मार्च २७ मा अध्यागमन अदालतले देशनिकाला आदेश जारी गरेको थियो। २०२० जनवरी १३ मा अमेरिका पुगेका उनी टेक्ससमा बसोबास गरिरहेका थिए। उनलाई २०२५ जुन ३ मा भर्जिनियाबाट नेपाल पठाइएको थियो।

मेरिल्यान्डमा बस्ने ३५ वर्षीय नेपाली पुरुषलाई २०२४ नोभेम्बर २४ मा टेलिकम्युनिकेसनमार्फत नाबालिगको यौन शोषण गरेको मुद्दामा दोषी ठहर गरिएको थियो। उनले २०२५ फेब्रुअरी १२ मा देशनिकाला आदेश दिइएको थियो भने गत जुन १० मा एरिजोनाबाट आईसीईले उनलाई देशनिकाला गरेको थियो।

२०२० जनवरी १६ मा अमेरिका पुगेका ३७ वर्षीय नेपाली पुरुषलाई २०२१ मार्च २९ मा रक्सी खाएर गाडी चलाएको (डीयूआई) मुद्दामा दोषी ठहर्‍याइएको थियो। अध्यागमन अदालतले उनीविरुद्ध २०१७ जुलाई १९ मै देशनिकाला आदेश जारी गरेको थियो। तर उनलाई फेब्रुअरी ३ मा टेक्ससबाट कतार पठाइएको थियो। तर उनलाई नेपालको सट्टा किन कतार पठाइयो भन्ने कारण स्पष्ट छैन। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि सेप्टेम्बर ३० सम्म २२६ पुरुष र ४२ महिलासहित कुल २६८ नेपाली नागरिकलाई अमेरिकाबाट निष्कासन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad