कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नगरपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ भवनबाट सेवा सञ्चनालनमा ल्याइएको पालिकाले जनाएको छ।
कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोलले मंगलबारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिए।
नगरपालिकाले कोभिड-१९ को समयमा आइसोलेसनका लागि प्रयोग गरिएको भवनबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्न थालेको हो।
बुधवारदेखि सम्पूर्ण सेवा यही भवनबाट हुने प्रमुख डंगोलको भनाइ छ। आपत्कालीन सेवा नगरपालिकाले भदौ २७ गतेदेखि नै सञ्चालनमा ल्याएको भए पनि अब भने सम्पूर्ण सेवा नै सुरु गर्न लागिएको उनले जानकारी दिए।
यसअघि पालिकाले पर्यटन सूचना केन्द्रबाट सेवा दिएको थियो।
‘आपत्कालीन सेवा भनेर भदौ २७ गतेदेखि नै सुरु गरिसकेका थियौँ। त्यसपछि पर्यटन सूचना केन्द्रबाट केही सेवा दिइरहेका थियौँ। आन्दोलनको दुई/चार दिनपछि हामीले ७० प्रतिशत सेवा दिँदै आएको थियौँ। तर, त्यो ठाउँ एकदम साँघुरो हुनाले कसैलाई उभिएरै पनि सेवा दिइरहेका थियौँ,’ नगर प्रमुख डंगोलले भने, ‘आजबाट सेवा सुरु गरिने यो भवन पहिला आइसोलेसनका लागि प्रयोग गरेको भवन हो। अझ पनि सामानहरू ल्याउन बाँकी छ। कतिपय व्यवस्थापन गर्न बाँकी छ। त्यसैले आजबाट सुरुआत हुन्छ, भोलिदेखि सबै सेवा यहीँबाट सुचारु हुन्छ।’
त्रिभुवन विश्वविद्यालयको स्वामित्त्वमा रहेको यस भवनबाट पुरानो भवन पुन:निर्माण नभइन्जेलसम्मका लागि सेवा दिन लागिएको प्रमुख डंगोलले नेपालखबरलाई बताए। उनका अनुसार पुरानो भवन जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा पूर्ण रूपमा जीर्ण छ। यसलाई पुन:निर्माण गर्न कम्तीमा पनि एक वर्ष लाग्ने डंगोलको भनाइ छ।
पुनःनिर्माणका लागि बजेटको व्यवस्था गरी एक वर्षभित्र तयार पार्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया