कारोबार


चालू वर्ष नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण, विश्व बैंक भन्छ– जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण, विश्व बैंक भन्छ– जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८२ मंगलबार १४:२२, काठमाडौँ

चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिमा संकुचन आउने विश्व बैंकले जनाएको छ। 

‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ गर्दै विश्व बैंकले भदौ चौथो हप्ता भएको जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा देखिने अनुमान गरेको हो। 

विश्व बैंकका अनुसार चालू वर्ष आर्थिक वृद्धिदर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ। १.५ देखि २.६ प्रतिशत संकुचनको सम्भावना पनि विश्व बैंकले औँल्याएको छ। 

गत आर्थिक वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि भएको नेपाली अर्थतन्त्रमा यस वर्ष ४.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। तर जेनजी प्रदर्शन, बाढी र पहिरोलगायत विभिन्न कारणले वृद्धिदर घटेर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ। 

त्यसपछिको आगामी आर्थिक वर्ष भने ४.७ प्रतिशत वृद्धिदर हासिल हुने विश्व बैंकको अनुमान छ। 

खासगरी विदेशी पर्यटकीय आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ। 

यसबाहेक लगानी मनोभावना कमजोर हुँदा निजी क्षेत्रको लगानी र गैरजलविद्युतीय निर्माणमा असर गर्नेछ। त्यसैगरी समयमै वर्षात् नभएको हुँदा धान उत्पादन हुने प्रदेशमा असर गरेकाले कृषि क्षेत्रमा पनि यसको असर पर्ने विश्व बैंकले उल्लेख गरेको छ। 

पुनर्निर्माणलाई अगाडि बढाउने सरकारी प्रतिबद्धता र सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछिको वर्षमा आर्थिक सुधार हुने विश्व बैंकको अपेक्षा छ। 

सन् २०२४ मा दक्षिण एसियाको समग्र कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.४ प्रतिशत थियो। यस वर्ष थोरै वृद्धि भएर ६.६ पुग्ने अनुमान छ। त्यस्तै २०२६ मा ५.८ प्रतिशत मात्रै वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। त्यसपछि सन् २०२७ मा भने पुनः ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ। 

यस क्षेत्रमा सबैभन्दा बढी भुटानको (७.३ प्रतिशत) र सबैभन्दा कम नेपालको (२.१ प्रतिशत) आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad