वर्षा र बाढीपहिरोको कारण आज देशका विभिन्न राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। एउटा सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।
काठमाडौँको नागढुंगा, टखेल, गोदाम हुँदै गुड्ने सवारी साधनलाई हाल दुवैतर्फ होल्ड गरिएको छ। काठमाडौँबाट मकवानपुर हुँदै बाहिरिने सावरी साधनलाई पनि हाल होल्ड अवस्थामा राखिएको छ।
त्यसैगरि अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ चारकिलो भन्ने ठाउँमा पनि पहिरोले सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरि काभ्रेको धुलिखेल नगरपालिका-८ पकुचामा पनि पहिरो खस्दा अरनिको राजमार्ग एकतर्फी भएको छ।
त्यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका-११ माम्ती खोलामा पनि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
बीपी र अरनिको राजमार्गमा अविरल वर्षाको कारण धुलिखेलदेखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सीमानासम्म दुवैतर्फ सवारी साधन अनिश्चित कालको लागि होल्ड गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरि कोसी राजमार्गको भोटखोलामा पनि आज सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यो सडक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ।
त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ।
त्यसैगरि रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ का तीन ठाउँमा पनि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

Shares

प्रतिक्रिया