राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरूको पूजा गरेका छन्।
बुधबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरूको पूजा गरेका हुन्।
दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २-३-४-५-६-७-८-९ वर्षकी कन्याको पूजा गरिन्छ। वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरूलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो।
यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरूको पूजा गरेका हुन्।
Shares

प्रतिक्रिया