ad ad

समाज


टोलमै घुलमिल थिए संक्रमित, परीक्षण नहुँदा स्थानीय त्रसित

टोलमै घुलमिल थिए संक्रमित, परीक्षण नहुँदा स्थानीय त्रसित

यज्ञराज जोशी
बैशाख १०, २०७७ बुधबार १३:४१,

नेपालमा सबैभन्दा बढी कोरोना (कोभिड–१९) संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा पर्याप्त परीक्षण नभएको भन्दै स्थानीयवासी त्रसित भएका छन्।

बुधबार थप ३ जनामा संक्रमण भेटिएपछि उक्त क्षेत्रमा संक्रमितको संख्या २७ पुगेको छ। भुल्केस्थित मस्जिदमा बस्दै आएका ११ जना भारतीय र उनीहरुको सम्पर्कमा आएका गरी हालसम्म २७ जनामा संक्रमण देखिएको हो।

मस्जिदबाट ५ मिनेटको पैदल दूरीमा घर भएका स्थानीय श्याम निरौलाले कोरोना संक्रमितहरुसँग स्थानीयको घुलमिल बाक्लो भएको तर अन्य स्थानीयको परीक्षण नहुँदा सबैमा त्रास बढेको बताए।

‘मुस्लिम समुदायका ५३ घरसँगै जोडिएका बाँकी ३ सय घरको खासै वास्ता गरिएको देखिदैँन,’ निरौलाले नेपालखबरसँग भने, ‘यहाँ २ हजार जनसंख्या छ। संक्रमित देखिएकाहरु टोलमा घुलमिल भएकै मध्येका हुन्। अरुको परीक्षण नहुँदा त्रासैत्रासमा बाँच्नुपरेको छ।’

संक्रमण पुष्टि हुनुअघि संक्रमितहरुले टोलमै बसेर तास खेल्ने, उनीहरुले फलाएको तरकारी उक्त क्षेत्रका बासिन्दाले खरिद तथा उपभोग गर्ने तथा संक्रमित भेटिएका एकजनाले चलाउने अटो स्थानीयले प्रयोग गर्दै आएका कारण स्थानीयहरु त्रसित देखिएको उनले बताए।

यस्तै कोरोना संक्रमणबाट बच्न भन्दै केही दिनअघि स्थानीय वन उपभोक्ता समितिले मास्क बनाउँदै टोलभरि बाँडिएको थियो। उक्त मास्क प्रत्येक घरमा दुई वटाका दरले बाँडिएको थियो। हाल उक्त मास्क बनाउने मान्छेलाई नै संक्रमण देखिएपछि झनै तनाव थपिएको निरौलाले बताए।

Bhulke Swab
यसैसाता उदयपुरकाे भुल्केमा स्वाब संकलन गर्दै नेपाली सेनाकाे टाेली

‘संक्रमितहरुलाई कुनै लक्षण देखिएको थिएन। संक्रमितको अटोमा म आफै बसेर मिलसम्म गएको थिएँ,’ निरौलाले भने, ‘मलाई पनि कुनै लक्षण छैन। टोलमा सबैलाई कोरोना पो भएको छ कि? भन्ने मनमा डर छ। तर, अहिलेसम्म हाम्रो परीक्षण भने भएको छैन।’

भुल्केका अर्का स्थानीय शम्भु थापाले पनि संक्रमितहरु टोलमा घुलमिल भइराख्ने मान्छे भएकाले जतिसक्दो चाँडो सबैलाई परीक्षण हुनुपर्ने बताउँछन्।

‘संक्रमितहरु टोलमा घुलमिल नै भएका मान्छे हुन्। अहिले मुस्लिमहरुको मात्रै परीक्षण भएको छ। तर उनीहरुसँग जोडिएका पहाडी तथा चौधरी समूदायको परीक्षण भएको छैन,’ थापाले भने, ‘त्यसले अरुलाई पनि संक्रमण छ कि भन्ने त्रास बढाएकोे छ।’

बैशाख ५ गते पहिलोपल्ट एकैचोटी उदयपुरका १२ जनालाई संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म त्यहाँका ३२० जनाको मात्रै पीसीआर परीक्षणको लागि नमूना संकलन भएको छ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर छन्।

‘किट अभाव हुँदा अहिले भुल्के र त्रियुगा क्षेत्रमा स्वाब नमूना संकलन रोकिएको छ,’ उनले भने, ‘हामीले प्रदेश र संघीय सरकारलाई जानकारी गराइसकेका छौं। एकदुई दिनमै पुनः सुरु हुन्छ।’

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले अहिले प्रदेश र संघीय सरकारसँग अनुरोध गरिरहेको बताए।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले केन्द्र सरकारले चिकित्सक तथा किटसहितको टोली पठाएको भन्दै बिहीबारबाट पुनः सो क्षेत्रमा स्वाव परीक्षण सुरु हुने बताए।

‘हामीले केन्द्रमा चिकित्सक टोली र आवश्यक सामाग्री माग गरेका थियौं। बिहीबार उनीहरु भुल्के पुग्नेछन्,’ कार्कीले नेपालखबरसँग भने।

याे पनि: 
उदयपुरमा थप ३ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .