समाज


काठमाडौंबाट बाहिरिन जडिबुटीमा भेला भएकालाई प्रहरीले रोक्यो

काठमाडौंबाट बाहिरिन जडिबुटीमा भेला भएकालाई प्रहरीले रोक्यो

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १३:२७,

काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन्। जसले गर्दा बुधबार पनि काठमाडौंको खडिबुटीमा मानिसहरु पुगेका थिए। तर प्रहरीले भने रोकेको छ। खासगरी मंगलबार राति रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो। तरपनि मानिसहरु घर जाने भन्दै सयौंको संख्यामा जडिबुटी चोकमा भेला भएका थिए। तर प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ–आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो।

लकडाउन लागू भएको एक महिना हुँदापनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ। जसका कारण पनि काठमाडौंबाट मानिसहरु हिंडेरै घर जाने क्रम बढेको थियो। तर केही दिन यता जनप्रतिनिधि र स्थानीय तहले सवारी साधनको व्यवस्था गरी मानिसहरुलाई गन्तब्यसम्म लैजाँदै आएका छन्। त्यसैले बुधबार पनि आफ्नो जिल्ला जाने बस पाउने आशामा मानिसहरु जडिबुटी चोकमा दिउसो देखि नै पुगेका थिए।

उनीहरुले काठमाडौंमा बस्नका लागि खाद्य सामग्री नभएको, ग्यास सकिएकोले आफ्नै घर जान लागेको बताएका छन्। खाद्य सामग्री र ग्यास किन्न पाइएपनि महँगो हुने र आफूहरुसँग पैसा नभएकोले समस्या परेको गुनासो उनीहरुको थियो। यस्तै कतैबाट पनि राहत पाउन नसक्दा घर जानुको विकल्प नरहेको समेत उनीहरुले बताए।

सवारी साधन पाइन्छ भन्दै काठमाडौंका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन्। प्रहरीले माथिको आदेश भन्दै कुनैपनि सवारीसाधन सञ्चालन गर्न नदिने बताएपछि मानिसहरु अन्यौलमा परेका थिए। काठमाडौंको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न स्थानबाट बस पाउने आशामा मानिसहरु हिँडेरै जडिबुटी पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .