न्युनतम पारिश्रमिक निर्धारण समितिले लकडाउनको समयमा कतिपय पत्रकारले पारिश्रमिक नपाएको वा कामबाटै निकालिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष राजेन्द्र अर्यालले बुधबार विज्ञप्ति प्रकाशित गरी कोरोना संक्रमणको लकडाउन र यसबाट उत्पन्न संकटको बाहनामा पत्रकारलाई पारिश्रमिक नदिने वा सेवाबाट समेत हटाउने क्रम बढ्दै गएको भन्दै गम्भीर र चिन्तित बनाएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ
‘कोरोना भाइरसको संक्रमण नियन्त्रका लागि लकडाउन भईरहेको समयमा पनि जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील पत्रकार, कामदार र कर्मचारीहरुलाई केहि सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधाबाट समेत बञ्चित गरेको गुनासा र समाचारहरुप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ। लकडाउन भन्दा अघिको बाँकी पारिश्रमिक र लकडाउन अवधिको पारिश्रमिक समेत हाल केही सञ्चार प्रतिष्ठानहरुले उपलब्ध नगराउँदा श्रमजीवी पत्रकार र कर्मचारीहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य छन्। यसबाट कतिपय पत्रकार, कामदार र कर्मचारीहरु दैनिक गुजारा चलाउन पनि समस्यामा परेका छन्।
उनीहरुको यो संवेदनशीलता प्रति जिम्मेवार हुनु सञ्चार प्रतिष्ठानहरुको प्रमुख दायित्व हुन आउँछ। कोरोना संक्रमणको यस्तो संवेदनशील घडीमा आफ्नो ज्यानको जोखिम मोलेर कार्य क्षेत्रमा खटिएका श्रमजीवी पत्रकार र कर्मचारीहरुले पारिश्रमिकको बक्यौता र नियमित पारिश्रमिक प्राप्त गर्न नसक्नु, लकडाउन र यसबाट उत्पन्न संकटको बाहनामा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले गम्भीर र चिन्तित बनाएको छ।
श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारहरुलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ। साथै, अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसुचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कामदार र कर्मचारीहरुको आवश्यक स्वास्थ्य परिक्षण र स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरि विशेष व्यवस्था गर्न पनि तत्काल ध्यान दिन सम्बन्धित पक्षलाई अपिल गरिन्छ।’
Shares

प्रतिक्रिया