दसैँको रमझम घरघरमा छिरेको छ। अर्को सहर, अर्को ठाउँमा बसेका मान्छेहरू घर फर्केका छन्। प्रियजनसँग भेटेका छन्। मिठोमसिनो खाएका छन्।
तर, हिमाली क्षेत्रमा दसैँको यो रौनक छैन। बरु, दसैँछेका आरोहीहरूको घुइँचो लाग्ने सिजन हुनाले त्यहाँ बेग्लै चटारो हुन्छ।
आङ छिरिङ शेर्पा ७२ वर्ष पुगे। उनलाई बाल्यकालमा समेत दसैँ मनाएको सम्झना छैन।
उनको घर सोलुखुम्बुको खुम्जुङ हो। घरबाट नजिकै रहेको एडमन्ड हिलारी स्कुलमा उनले बढे। अंग्रेजी भाषामा पढेको हुनाले उनी राम्ररी अंग्रेजी बोल्न जान्दथे।
दस वर्षजतिको हुँदा उनलाई सम्झना छ, दसैँको समयमा स्कुल दुई महिनाभन्दा लामो समय बिदा हुन्थ्यो। किनकि दार्जिलिङ, न्युजिल्यान्ड, अस्ट्रेलिया र क्यानडादेखि आएका शिक्षकहरू घर जाने गर्थे।
अध्यापनको लागि आएका शिक्षकहरूलाई एक महिना त आउजाउ गर्नै लाग्थ्यो।
यति लामो छुट्टीको समय साँच्चै रमाइलो हुन्थ्यो। हिमाली भेगका सबैजसो बालबालिका बिदाको समयमा आफ्नो मामा र पाला (आमा–बुवा) लाई सघाउने गर्थे।

दसैँ, तिहारको समय हिमाल आरोहण र ट्रेकिङको लागि पिक समय भएकाले आङ छिरिङ पनि काका र बुबालाई पर्यटकसँग अंग्रेजीमा कुरा गर्न सघाउँथे।
किनकि आजभन्दा ६०–६५ वर्षअगाडि सो स्थानमा अंग्रेजी बोल्न जान्ने मान्छे थोरै थिए। शेर्पा गाइडलाई समेत अंग्रेजी आउँदैनथ्यो भने अरु त हातको इसाराका भरमा कुराकानी गर्थे।
‘ठूला–ठूला अभियान टोलीहरूलाई चाहिँ अंग्रेजीमा लेखेर खाएको, बसेको, आदि कुराको हिसाब दिनु पर्ने हुनाले अंग्रेजी बोल्न जान्नेको माग निकै धेरै हुन्थ्यो,’ उनले सुनाए, ‘जसले गर्दा पनि हामी साथीहरू पासाङ तेम्बा, लाक्पा ठुन्डु, पासाङ छिरिङ, पेम्बा नोर्गे, कान्छाको माग त्यो बेलामा निकै हुन्थ्यो।’
त्यसैले दसैँ बिदा हुनुभन्दा पहिलेदेखि नै घुम्न पाउने र पर्यटकसँग अंग्रेजीमा बात मार्ने कुराले उत्साहित हुने गर्थे।
त्यो बेला नेपालमा ट्राभल एजेन्सी धेरै थिएनन्। जसले गर्दा आरोहण दलहरू ठुल्ठूला हुन्थे, २५–३० सदस्य हुन्थे। त्यसैले आङछिरिङ दोभासेको रूपमा पहिलेदेखि नै बुकिङ हुने गर्थे।
आरोहीहरूसँग जाँदा आफ्नो अंग्रेजी थप सुधार हुने र आमाबुबालाई सहयोग पनि हुने हुनाले निकै रमाइलो लाग्ने गरेको अनुभव शेर्पा सुनाउँछन्।
‘हामीलाई गोरा मानिसहरूसँग बोल्न निकै रमाइलो लाग्थ्यो। हामी बुढापाकलाई सोध्थ्यौँ, उनीहरू यति गोरो कसरी भएका होलान्?’ उनले सुनाए, ‘अनि बाजेहरू पनि ती त घिउले बनेका मान्छे हुन् भन्थे। हामी पत्याउँथ्यौँ।’
आङछिरिङ १९६३ देखि हालसम्मै हिमाली पर्यटनमा सक्रिय छन्। खासमा मानिसहरूलाई उनलाई एड्भेन्चर टुरिजमकै सबैभन्दा सिनियर मान्छन्।

दोभाषेको रूपमा पहिलो अनुभव
सन् १९६३ को कुरा हो। उनी तीन कक्षामा पढ्थे। दसैँ नजिकिँदै गर्दा आङछिरिङ र उनका साथीहरू निकै उत्साहित थिए।
किनकि उनका पालाले भनेका थिए, ‘बाबु तिमीलाई अंग्रेजी भषा राम्रोसँग आउँछ, तिम्रो स्कुल पनि छुट्टी छ, याम्बु (काठमाडौँ) जानु पर्छ आरोहीलाई लिन।’
उनलाई आफ्नो घर भएको ठाउँबाट हिमालपारि कस्तो ठाउँ होला भन्ने जिज्ञासाले सताइरहन्थ्यो। बुबाले याम्बु जानुपर्छ भनेपछि त उनको खुसीको ठेगानै रहेन।
त्यो वर्ष अमेरिकीहरूको आरोहण भएको थियो। जसमा उनका काका सरदार थिए।
खुम्जुङबाट काठमाडौँ पुग्न १६ दिन लाग्थ्यो। बनेपासम्मको पैदल बाटो भर्खर मात्र खुलेको थियो। २५० जनाभन्दा बढी भरिया, गाइड, कुक, शेर्पासमेत सयगरी करि ३५० जना खुम्बुबाट आएका थिए। उक्त टोलीसँग बनेपासम्म पुग्दा उनलाई निकै रमाइलो लागेको थोयो शेर्पालाई।
बनेपाबाट काठमाडौँसम्म चाहिँ आङछिरिङ, उनका काका, बुवा अनि ६–७ जना गाइड मात्र गएका थिए।
पहिलो पटक गाडी देख्दा उनी दंग दङ्ग परेका थिए।

‘सबैभन्दा अचम्म लागेको कुरा त हिमालमा एक बाली अन्न पनि बल्लतल्ल उम्रिन्छ। तर हाम्रो घर ठुल्ठूलो हुन्छ। तर पहाडमा त दुई–तीन बाली खेती हुँदा पनि उनीहरूको घर सडक छेउमा छाप्रो जस्तो हालेर बसेको देखेँ,’ उनले सुनाए।
बनेपाबाट फर्कंदा पर्यटकको झोला तथा अन्य सामग्री बोक्ने भरिया मात्र ९०७ जना थिए। आफ्ना उमेरका साथीहरू र बुवाकाका लगायत त्यत्तिका मान्छेसँगै काठमाडौँ पुगेर फर्किंदा निकै रमाइलो भएको उनको भनाइ छ।
त्यो बेला बाटोमा कुनै होटेल वा लज थिएन। पाटीपौवा, घरको छिँडी, बाहिरै खाना बनाएर खाने, नयाँ–नयाँ ठाउँ हेर्दै हिँड्दा आनन्द लाग्थ्यो उनलाई।
‘पालाले बारम्बार सोधिरहनुहुन्थ्यो– तिमीलाई ठिक छ? कस्तो लागेको छ?’ भन्छन्, ‘यति सानो उमेरमा नै दोभाषेको रूपमा छोराले आफूलाई सघाएको देखेर पालालाई निकै गर्व महसुस भएको थियो।’
नेपाली हिमालहरूको प्रोफाइल तयार गर्न जापानीहरू, अमेरिकी र युरोपेलीहरू आउँथे। आङछिरिङले ती टोलीसँग पनि काम गरे। सानैदेखि यस कार्यमा लागेको हुनाले बाटो कहाँ पुग्छदेखि कुन ठाउँको उचाइ कति छ भन्ने जानकारी उनलाई हुन्थ्यो।

बालबालिकालाई पैसा दिएर काममा लगाएको देख्यो भने विदेशीहरू श्रम शोषण भयो भन्थे। त्यसैले बाल्यकालमा आफूहरूले स्वयंसेवकका रूपमा मात्र बुवाआमालाई सघाएको उनको भनाइ छ।
कहिलेकाहीँ चाहिँ पर्यटकहरूले बक्सिस भनेर पैसा दिने गर्थे। त्यसरी पैसा पाउँदा शेर्पाको खुसीको ठेगान नै हुँदैनथ्यो। त्यो कुरा सुनाउँदा आङछिरिङको मुहार आज पनि उज्यालो हुन्छ।
उनले पहिले पटक बक्सिसको रूपमा १९६६ मा २५० रूपैयाँ पाएका थिए। त्यतिखेरको लागि त्यो रकम निकै ठूलो थियो। पाँच पैसाको एक कप चिया पाउने समयमा उनले २५० रूपैयाँ पाएका थिए।
सो समयमा उनको गाउँमा १ रूपैयाँमा ६ वटा अण्डा पाइन्थ्यो।
त्यो पैसाले दसैँ तिहार सकिएपछि हरेक हप्ता शनिबार लाग्ने हाटमा गएर एक हप्तालाई पुग्नेगरी कुखुरा, अण्डा किन्ने गर्थे।
साथीहरूसँग आगो ताप्दै अण्डा खाएको याद उनलाई ताजै छ। तर, ती ६ जना साथीहरू आज जीवित छैनन्। उनीहरूको नाम लिँदा आङछिरिङको ओठमा मुस्कान फुल्छ।
धौलागिरिको ८ हजार १ सय ५० मिटरसम्म र सगरमाथाको ८ हजार मिटर (क्याम्प ४) सम्म पुगेका शेर्पाले सगरमाथा आरोहण भने गरेका छैनन्।
Shares

प्रतिक्रिया