भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रहरीले गरेको रक्तपात र आन्दोलनकारीले गरेको विध्वंशबारे छानबिन हुने भएको छ। सरकारले आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। समितिमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
आयोगलाई २३ र २४ गते भएका घटनाका दोषी किटान गर्दै कारबाही सिफारिस गर्न तीन महिनाको समय तोकिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
जाँचबुझ आयोगको अध्यक्ष बनेपछि कार्कीले नेपालखबरसँग भने, ‘२३ गते आन्दोलनका क्रममा भएको ज्यादतीका घटनाहरूको छानबिन हुन्छ। किशोर भाइबहिनीहरूले सहादत प्राप्त गरे। ककसको गल्ती कमजोरीले यस्तो घटना भयो भन्ने छानबिन हुन्छ र त्यही अनुसारको कारबाही गर्न सिफारिस हुन्छ। २४ गते देश जलाउने काम भयो। देश जलाउने काम ककसको गल्तीले हुन गयो हामी यसको पनि छानबिन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्छौँ।’
आन्दोलनको पहिलो दिन २३ गते आन्दोलनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको र २४ गते आन्दोलनकारीले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयसहित निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेका थिए।
आन्दोलनका क्रममा मारिनेको संख्या ७४ पुगेको छ। जसमा आन्दोलनकारी, प्रहरी र जेलबाट भाग्न लागेका कैदीबन्दी र आगजनीमा जलेकाहरू पनि छन्। ठूलो जनधनको क्षति भएपछि दुवै पक्षले घुसपैठ भएको बताइरहेका बेला सरकारले जाँचबुझ आयोग गठन गरेको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली नहानेको र त्यहाँ प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको दाबी गरेका छन्। उनीसहित एमाले नेताहरूले यस विषयमा छानबिन हुनु पर्ने माग गरेका छन्।
एमाले पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले पनि छानबिनको माग गरेका छन्। आइतबार रिजालले तत्कालीन प्रधानमन्त्रीले नै गोली चलाउने सरकारको आदेश थिएन, युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन भन्नु अत्यन्त गम्भीर विषय भएको बताएका छन्। हत्या, आगजनी र लुटपाटको छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेका छन्। थापाले प्रहरीलाई भदौ २३ गते गोली चलाउने आदेश नै नभएको जिकिर गरेका छन्।
यस्तै आन्दोलनको आह्वान गरेका जेनजीले पनि आन्दोलनमा घुसपैठ भएको स्वीकार गरेका छन्। २४ गते भएको विध्वंशको जिम्मेवारी जेनजीका नेतृत्व दाबी गर्नेहरूले पनि लिएका छैनन्। उनीहरूले घुसपैठ भएको र यस्तो विध्वंश गर्ने आफ्नो योजना नभएको बताएका छन्।
तर तत्कालीन प्रधानमन्त्री ओलीले दाबी गरेजस्तो स्वचालित हतियार प्रहरीसँग नभएको भन्ने होइन। पूर्वडीआईजी हेमन्त मल्लका अनुसार संसद् भवनको सुरक्षामा खटिएका प्रहरीसँग अर्धस्वचालित हतियार हुन्छन्। २३ गतेको घटनामा संसद् भवनअगाडि नै मारिएका हुन्। संसद् भवनमा तोडफोड र आगजनीको प्रयास भएपछि प्रहरीले गोली चलाएको थियो।
आन्दोलनकारीलाई प्रहार गरिएका गोलीहरू एसएलआर र इन्सासका हुन्। जुन हतियार अहिले नेपाल प्रहरीले प्रयोग गरिरहेको छ। यी दुवै हतियार अर्धस्वचालित हुन्।
‘प्रहरीलाई दिँदै यस्ता घातक हतियार प्रयोग गर्न दिइएको छ। अघिले आएर घुसपैठ भयो भन्नुको अर्थ छैन। जुनसुकै आन्दोलनमा घुसपैठ हुन्छन्। जेनजीको आन्दोलनमा पनि सबै दलका मान्छेहरू देखिएका छन्। यो भनेको घुसपैठ हो। यसको छानबिन गर्नुपर्छ,’ मल्लले नेपालखबरसँग भने, ‘प्रहरीलाई एसएलआर र इन्सास दिइएको छ। यी भीड नियन्त्रणमा प्रयोग गर्ने हतियार होइनन्।’
पूर्वडीआईजी मल्लले भने यस्ता हतियार प्रयोग हुनुमा प्रहरीको गल्ती नभएको र प्रहरीलाई सरकारले जुन हतियार दियो, त्यही प्रयोग गर्ने बताए। प्रहरीलाई भीड नियन्त्रणका लागि हतियार खरिद गर्न पटकपटक प्रयास भए पनि विभिन्न स्वार्थ समूहका कारण रोकिँदा त्यसको असर परेको उनले बताए।
जेनजी आन्दोलनका क्रममा मारिनेलाई के कस्तो गोली लागेको हो भन्ने जाँच भएपछि मात्रै भन्न सकिने उनले बताए।
‘मृतकलाई कुन गोली लागेको छ र त्यो गोली प्रहरीसँग छ कि छैन भनेर हेर्नुपर्छ। प्रहरीले किन प्रयोग गर्यो भन्ने विषयमा भने प्रहरीलाई जे दियो, त्यही प्रयोग गर्छ,’ उनले भने।
आन्दोलनकारीलाई लागेको भनिएको ७.६२ बोर नेपाल प्रहरीसँग रहेको उनले बताए। तर अब प्रहरीले ती गोली प्रयोग गरेको थियो कि थिएन भन्ने विषयमा भने जाँचबुझ नै आवश्यक हुने उनको भनाइ छ।
नेपाल प्रहरीका १२ सय बढी हतियार आन्दोलनकारीले लुटेका छन्। यस्तै लुटिएका र आन्दोलनमा प्रयोग भएका गरी झण्डै उक लाख गोली प्रहरीसँग हाल छैनन्। तीमध्ये कति प्रयोग भए र कति लुटिए भन्ने एकिन हुन नसकेको प्रहरीका एक उच्च अधिकारीले बताए।
‘यस विषयमा हामी पनि अनुसन्धान गर्दैछौँ। प्रहरीले चलाएका गोली कति हुन्, कति लुटिए। केही त फिर्ता पनि आएका छन्। अहिले नै फायर भएको गोलीको विवरण भन्न सकिने अवस्था छैन,’ ती एआईजीले भने।
प्रहरीले लुटपाट भएका हातहतियार तथा अन्य सामग्री फिर्ता गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ। यस्तै घटनाको अनुसन्धान गरिरहेको पनि प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए। प्रहरी प्रधान कार्यालयले प्रहरीतर्फ भएको क्षतिको विवरण संकलन गर्न डीआईजी दीपक रेग्मीको नेतृत्वमा छुट्टै टोली खटाएको छ।
तर अब जाँचबुझ आयोगले पनि यस विषयमा अनुसन्धान गरेर एकिन गर्ने जिम्मेवारी पाएको छ।
Shares

प्रतिक्रिया