गत मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा धेरै सरकारी संरचनाहरू क्षति भयो। जसमध्येको बामगती प्रदेश सभाको नवनिर्मित सभाहल पनि जोगिएन। करिब ४ वर्ष लगाएर १२ करोड २९ लाख लागतमा बनेको बागमती प्रदेश सभाको नवनिर्मित भवन जलेर खरानी भयो।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सदनबाट विश्वासको मत लिने दिन अर्थात् गत २७ साउनबाट औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो।
सो पश्चात् उक्त प्रदेश सभा भवनबाट जम्मा तीनवटा बैठक मात्रै सञ्चालन गरिएको थियो। सधैँ साँगुरो कक्षमा बैठक बसेका सांसदहरूले बल्ल सुविधा सम्पन्न भवनमा बैठक सञ्चालन गर्ने अवसर प्राप्त गरेका थिए। तर उद्घाटन भएको महिना दिन पनि नपुग्दै जेन–जी आन्दोलनका क्रममा आजगनीबाट यो भवन पूर्णरुपमा क्षति भयो।
जेन–जी आन्दोलनको दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए। दिनभर आन्दोलन भैरहँदा जोगिएको भवन अपराह्नतिर मात्रै आगजनी भएको थियो।
प्रदर्शनकारीहरूले आगजनी मात्रै गरेनन्, उक्त भवनभित्र रहेको फर्निचरका सामान, क्यामेरा, ल्याबटप, कम्यूटर देखि टेलिभिजनसम्म चोरी गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार प्रदेश सभा भवनमा रहेका सामाग्रीहरू समेत चोरी भएका हुन्। उनका अनुसार ठूलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै ईंटा र ढुंगा प्रहार गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेश सभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए।
प्रदेश सभाको नयाँ र पुरानो दुवै भवनमा पूर्ण रूपमा क्षति पुगेको छ। कांग्रेस संसदीय दलको कार्यालय बाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ।
आगजनीबाट प्रदेश सभाको नयाँ भवनको संरचना पूर्ण रूपमा ध्वस्त भएको छ। पुरानो भवनको भित्री संरचना, त्यहाँ रहेका सम्पूर्ण फर्निचर, कागजात र भौतिक सामग्री जलेर नष्ट भएका छन्। आगजनीबाट के–कति क्षति भयो, भन्ने यकिन गर्न नसकिने सचिव दर्जीको भनाइ छ।
१० मंसिर २०७७ मा शिलान्यास गरी १८ महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढ़े चार वर्षसम्म लागेको थियो। दुई चरणमा ठेक्का लगाएर भवनको काम सम्पन्न गरिएको हो। २ सय ५० जना अट्ने सभाहल इपिएस स्यान्डवीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाको समन्वयमा अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले निर्माण गरेको थियो।

उक्त भवन निर्माण नहुँदासम्मको अवस्थामा तत्कालीन क्षेत्रीय निर्देशनालयको भवनबाट सञ्चालित प्रदेश सभा सचिवालयकै भवनमा बैठक कक्ष थियो। प्रदेश स्थापनाको ८ वर्षमा बनेको नयाँ भवन सञ्चालनको महिना दिन पनि टिक्न पाएन।
त्यति मात्रै होइन, प्रदेश सभाको पुरानो भवन पनि जलेर पूर्णरुपमा क्षति भएको छ। प्रदेश सभा परिसरमा रहेका राजनीतिक दलको संसदीय कार्यालय समेत क्षति भएको छ।
प्रदेश सभा सचिवालयका एउटै भवनमा रहेको कांग्रेस संसदीय दलको कार्यालय र त्यसको माथिल्लो तलामा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भने क्षति पुगेको छैन। तर पहिलो तलामा आगलागीका कारण भवनको भित्ता चर्किएको छ।
यसबाहेक, कार्यालयका केही सवारीहरूमा समेत आगजनी भएको प्रदेश सभा सचिवालयका सचिव दर्जी बताउँछन्। उनका अनुसार केही कर्मचारीको निजी तथा सरकारी सवारीहरू समेत आगजनीमा परेर ध्वस्त भएका छन्।
यस्तै, प्रदेश सभा परिसरमा रहेको चमेना गृहदेखि सबै संरचनाहरूमा क्षति पुगेको बताइएको छ।

Shares

प्रतिक्रिया