समाज


‘आमा तिमीलाई काठमाडौँ घुमाउँछु’ भन्थे, तर छोराकै शव बुझ्न आउनुपर्‍यो चौपता

‘आमा तिमीलाई काठमाडौँ घुमाउँछु’ भन्थे, तर छोराकै शव बुझ्न आउनुपर्‍यो चौपता

प्रज्ञा तिम्सिना
भदौ २९, २०८२ आइतबार १९:५२, काठमाडौँ

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी चौपता बुढाका तीन छोरामध्ये माइला थिए ओब्जन बुढा।

४ वर्षयता काठमाडौँ बसिरहेका ओब्जनले चौपतालाई वचन दिएका थिए– आमा तपाईंलाई काठमाडौँ घुमाउँछु।

तर, ओब्जन आमालाई काठमाडौँ घुमाउने वचन पूरा नगर्दै संसारबाट बिदा लिए।

जेनजी प्रदर्शनमा प्रहरीको दमनबाट २३ वर्षीय ओब्जनको ज्यान गयो।

र, उनै छोराको शव बुझ्न चौपता गत शुक्रबार पहिलो पटक काठमाडौँ आइन्।

‘आमा काठमाडौं घुमाउँला भन्थ्यो, आफू मरिगयो, काठमाडौँ देखाइगयो,’ त्रिवि शिक्षण अस्पतालमा छोराको शव पर्खिरहेकी चौपता भक्कानिँदै बिलौना गर्छिन्, ‘आफू मरिगएर मलाई काठमाडौँ देखायो।’ 

गत मंगलबार प्रहरीको गाली लागेर ढलेका ओब्जनलाई केही व्यक्तिहरूले ग्वार्कोको बीएन्डबी अस्पताल लगेका थिए। अपरिचित समूहले उनलाई अस्पताल छोडेर हिँडेको थियो। ओब्जनको टाउकोमा गोली लागेको थियो। चिकित्सकले उनलाई बचाउन सकेनन्। ४ दिनसम्म उनको पहिचान खुल्न नसकेको मृतक भन्दै अस्पतालमा नै राखिएको थियो। 

परिवारले धेरै पटक फोन गर्दा पनि फोन सम्पर्क हुन नसकेपछि ओब्जनका दाइ कपुरले सामाजिक सञ्जालमा उनको फोटो राखेका थिए। त्यसमा बीएन्डबी अस्पतालका कर्मचारीले फोटोमा भएको व्यक्ति अस्पतालमा रहेको भन्दै फोन गरेका थिए।

त्यसपछि कपुर आमाबुबा लिएर गत शुक्रबार काठमाडौँ आएका हुन्।

परिवारसँग धित मर्नेगरी बस्न पाएनन्
घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवारले ओब्जन पढाउन सकेन। घरबाट केही टाढा कोल्टीमा पढाइदिने सर्तमा उनी अरुको घरमा काम गर्न बसेका थिए। 

कोल्टीमा उनले ३ कक्षादेखि पढ्न थाले। कोल्टीबाटै कक्षा १० उत्तीर्ण गरेका थिए। काम गर्न राखेकाहरूले नै ओब्जनलाई काठमाडौँ पढाउन लिएर आए। ओब्जन काठमाडौँ आएर कक्षा १२ उत्र्तीण गरे। २ वर्षदेखि भने उनी एक्लै बस्दै आएका थिए। 

परिवारसँग लामो समय नबसेका कारण ओब्जन आमालाई सधैँ भन्ने गर्थे, ‘तपाईंका त दुई छोरा छन्।’ 

‘सानैदेखि परिवारबाट अलग बस्यो। परिवारसँग धित मर्नेगरी बस्न पाएन। कक्षा ३ मा पढ्दा अरुको घरमा काम गर्न बसेको थियो। उनैले पढाएका थिए। परिवारबाट टाढा बसेको भएर पनि त्यसो भनेको थियो होला। भाइले भनेको बमोजिम भयो,’ कपुर गहभरि आँसु बनाउँदै भन्छन्। 

आर्थिक अवस्थाका कारण कक्षा १२ पछि पढ्न नपाएका ओब्जन विदेश जान चाहन्थे। 

‘खाडी देश भए पनि जान्छु भन्दै १० दिनअगाडि मात्र फोन गरेको थियो। पैसा कमाएर परिवारलाई पाल्छु भनेको थियो, कसरी आन्दोलनमा गयो,’ उनले भने, ‘मेरो भाइको बलिदानलाई खेर जान नदिनु होला नयाँ बन्ने सरकार।’

भदौ २३ र २४ गते भएको प्रदर्शनमा देशभर ७२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। 

मृतकहरूको पोस्टमार्टम भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा ४० वटा शव पोस्टमार्टमका लागि राखिएको छ। चुच्चेपाटीस्थित भाटभटेनीमा मृत्यु भएका ६ जनाको ‘डीएनए’ परीक्षण पछि मात्र पहिचान हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad