मंगलबार पोखरामा पनि आन्दोलन उग्र बन्दै गएको थियो। भीडले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको लेकसाइडस्थित सेन्ट्रलप्वइन्ट भवन जलायो।
सोही भवनभित्र जलेर स्वस्थानी खड्काको ज्यान गयो।
दोलखा जिल्ला बैत्यश्वर ८ निवासी २५ वर्षीया स्वस्थानी पोखरा कामको सिलसिलामा गएकी थिइन्।
त्यसबेला उनी साथीसँगै सो भवनभित्र थिइन्। अचानक आन्दोलनकारीहरू आएर भवन तोडफोड गर्न थालेपछि स्वास्थानी र उनकी साथी बाहिर निस्किएका थिए।
तर, आफ्नो सामान छुटेको थाहा पाएपछि उनी फर्केर भित्र पसेकी थिइन्।
उनी छिर्नेबित्तिकै आन्दोलनकारी समूहले उक्त भवनमा आगो लगाएको उनको साथीले परिवारलाई बताएकी छन्।
‘भित्र मेरो साथी छ, आगो नलगाउनुहोस्’ भन्दै आफूले चिच्याए पनि कसैले नसुनेको ती साथीले बताएकी छन्।
पछि प्रहरीले सो भवनभित्र मान्छे भएको सूचना पायो। र, भित्र गएर हेर्दा स्वस्थानी मृत फेला परिन्।
प्रहरीका अनुसार घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो।
उनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।
मंगलबार भएको उक्त घटनाको सूचना साथीले स्वस्थानीको परिवारलाई दिइन्। घटनाको विषयमा थाहा पाएर बुधबार स्वस्थानीका भाइ र भिनाजु पोखरा पुगेका थिए र त्यहाँ उनको पोस्टमार्टम भएको थियो।
बिहीबार दिउँसो उनको शवलाई स्वस्थानीको भिनाजु र भाइले काठमाडौँको पशुपति आर्यघाटमा ल्याए।
उनका बुबा राजेश खड्का र आमा बालकुमारी खड्का घटनाको विषयमा थाहा पाउनेबित्तिकै बुधबार नै दोलखाबाट काठमाडौँ आएका थिए।
बुबाआमालाई सम्हाल्न साह्रै गाह्रो भएको भिनाजुको भनाइ छ।
स्वस्थानीका तीन दिदी र एक भाइ छन्। उनको परिवारको आर्थिक स्थिति सामान्य रहेको र खेतीकिसानी गरेर जीविका चलाउने गरेको आफन्तहरूको भनाइ छ।
काठमाडौँमा भाइसँगै बसेर ब्युटिसियनको काम गर्दै रत्न राज्यलक्ष्मी कलेजमा स्नातक अध्ययनरत स्वस्थानीलाई राजनीतिसँग कुनै सरोकार थिएन। तैपनि २५ वर्षको उमेरमा उनले ज्यान गुमाउन पर्यो।
अन्त्येष्टिपछि परिवारले उनको काजक्रिया पशुपति परिसरमै गरिरहेको छ।
Shares

प्रतिक्रिया