समाज


‘जेनजी’ आन्दोलनमा जलेको भैँसेपाटी प्रहरी कार्यालय निर्माणमा जुटे स्थानीय

जलेको भवन निर्माण गर्न चन्दाबाट जुट्यो ४ लाख
‘जेनजी’ आन्दोलनमा जलेको भैँसेपाटी प्रहरी कार्यालय निर्माणमा जुटे स्थानीय

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १४:५, काठमाडौँ

‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित  प्रहरी प्रभाग स्थानीयले पुनःस्थापना गरेका छन्।
 
यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका छन्। 

प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित बिहीबार अबेर प्रभागमा प्रवेश गरेको हाे। आन्दोलनकारीले गस्तीमा प्रयोग हुँदै आएको चारपाङ्ग्रे दुईवटा सवारीसाधन, केही मोटरसाइकल र कार्यालयका सबै सामान जलाएर नष्ट पारेका थिए।

प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा २२ का वडाअध्यक्ष सागर तुलाधर र २१ नं वडाअध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गरेका छन्। 

प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको छ। 

समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आज ५० जनाभन्दा बढी स्थानीयहरू प्रभागको सरसफाइमा जुटेका छन्। झ्यालढोका मर्मत, रङरोगन, बत्ती एवं पानीको व्यवस्थासहित अन्य बन्दोबस्तीका सामग्री जुटाउन समिति लागिपरेको छ।

प्रभागका प्रमुख शर्माका अनुसार हालसम्म स्थानीयबाट रु चार लाखभन्दा रकम सङ्कलन भइसकेको छ। बजार सामान्य अवस्थामा फर्केसँगै बजारबाट सामग्री खरिद गरिने र प्रभागलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

उनले भने, ‘विगतमा जस्तै जनताको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी आगामी दिनमा लागिपर्नेछ, त्यसका लागि जनस्तरबाट पहिलेजस्तै सहयोग हुने विश्वास छ।’ गस्तीमा जानका लागि प्रयोग हुने गरेका सबै सवारीसाधन जलेकाले स्थानीयस्तरबाट केही समयका लागि गाडीको व्यवस्था गर्ने तयारी भएको छ।

ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जन र वडा नं १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए।
 
प्रभाग प्रमुख शर्माले वडाअध्यक्ष र स्थानीयको साथ, सहयोग तथा माया महत्त्वपूर्ण रहेको बताउँदै प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न सकिने विश्वास व्यक्त गरे। 

नक्खु कारागारका सबै कैदी–बन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरूरी रहेको समितिका सदस्य एवं समाजसेवी देवेन्द्रकुमार गौतमले बताए। प्रभागको नेतृत्वमा ४३ जना प्रहरी, आठ जना ट्राफिक प्रहरी र फर्सिडोलको प्रहरी चौकीका अन्य आठ जना रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad