समाज


सीमा पारि रहँदा आमा गुमाएका बाशुदेव बेखर्ची घर पुगे

सीमा पारि रहँदा आमा गुमाएका बाशुदेव बेखर्ची घर पुगे

गोकुल जोशी
बैशाख ८, २०७७ सोमबार १२:०,

परिवारको जेठो छोरा हुन् बाशुदेव भट्ट। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ जुगौडाका उनी दुई महिनाअघि कामको खोजीमा महाकालीपारि धार्चुला गएका थिए।

उनी धार्चुलाको बालुवाकोटमा सडक निर्माणको काम गर्थे। यही बेला कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारत र नेपाल दुवैतर्फ आवागमन बन्द भयो।

‘बिसु’ अर्थात् नयाँ वर्षको पर्वमा पनि घर आउन पाएनन, बासुदेव। दार्चुला पारि बालुवाकोटमै उनलाई क्वारेन्टिनमा राखियो। जहाँ अहिले सुदूरपश्चिमका एक हजारभन्दा धेरै नेपालीलाई राखिएको छ।

शैल्यशिखर नगरपालिका–१ जुगौडास्थित बासुदेवको घरमा आमाको मृत्यु भएको थियो। उनी काजकिरियाका लागि घर आउन पाएनन्। क्वारेन्टिनमै किरिया बसे, त्यो पनि भाग्ने पो हो कि भनेर बसेका प्रहरीको पहरामा। आमाको काजकिरियाका लागि पनि उनलाई घर आउन नदिइएको घटना राष्ट्रिय समाचार बन्यो। सरकारको तीव्र आलोचना पनि भयो।

त्यसपछि मात्रै उनलाई घर ल्याउनका लागि स्थानीय प्रशासन तथा केन्द्र सरकारले पहल सुरु गरे। वैशाख ३ गते गृह मन्त्रालयले बासुदेवलाई घर ल्याउने व्यवस्था मिलाउन प्रशासनलाई अनुमति दियो। गृहको निर्देशनको चार दिनपछि आइतबार भारतको गृह मन्त्रालयले पनि सीमा नाका प्रवेशको अनुमति दिए पछि बासुदेव घर पुगे।

अहिले उनी शैल्यशिखर नगरपालिका–१ जुगौडास्थित आफ्नै घरमा बरखी बारिरहेका छन्। भारतीय क्वारेन्टिनमा रहँदा आमाको मृत्यु भएको ६ दिन पछि घर आउन पाएका बासुदेवले भारतीय क्वारेन्टिनमा रहेका अन्य नेपालीहरुलाई सकुशल स्वदेश भित्राउन माग गरेका छन्। क्वारेन्टिनमा नेपालीहरुले निकै कठिनाइ भोग्नु परिरहेको बताउँदै बासुदेवले उनीहरुलाई स्वदेश ल्याउनु पर्ने माग अघि सारे।

‘न गोजीमा पैसा छ, न केही। विना पैसा कठिनाइपूर्वक क्वारेन्टिनमा बस्नु परेको छ, खानाले मात्रै हुँदैन।’ बासुदेवले भने, ‘क्वारेन्टिन अवधि पनि काटिसकेका छन्, उनीहरुलाई स्वदेश ल्याउनु पर्छ।’

उनी बालुवाकोटस्थित राजकीय इन्टरनेसनल कलेजमा क्वारेन्टिनमा बसेका थिए। यो क्वारेन्टिनमा तीन सय ७० जना नेपाली क्वारेन्टिनमा बसेका छन्। दुई समय खाना पाइने बासुदेवले बताए।

बासुदेव लकडाउनको कारण काम बन्द भए पछि डेढ महिनाको मजदुरी ठेकेदार (हलिद्धानीका मनोज रावत) लाई नै छोडेर बेखर्ची भइ घर पुगेको बताउँछन्। ‘४५० भारु दैनिक ज्याला दिन्छु भनि काम गरे, ठेकेदारले पछि ४ सय मात्रै दिने भन्यो, धेरै साथीहरुले काम छोडे तर म र बझाङका दुई साथीले काम ग-यौँ अहिले काम बन्द भएर ठेकेदार भागेको छ, डेढ महिनाको पैसा छोडेको छु।’

घर फर्किनु अघिको घटना सुनाउँदै बासुदेवले नेपालखबरसँग भने, ‘चामल बेचेर घर आउने खर्च जोहो ग-यौँ।’ लकडाउनका कारण भारतमै आमाको किरिया बसेका बाशुदेवले आफूलाई घर पु-याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।

वैशाख २ गते आमाको मृत्युको दुःखद खबर सुने पछि त्यहाँको प्रशासन र नेपाली प्रशासनलाई बारम्बार सम्पर्क गरी घर आउने व्यवस्था मिलाइ दिन आग्रह गरी रहे। तर मन्त्रालयकोे निर्देशन चाहिने र त्यो प्रक्रियामा रहेको बताउँदै दुवैतर्फका प्रशासनले भोलि–भोलि भन्दै कुराइरहेको उनले सुनाए।

‘क्वारेन्टिनमा नै आमाको काजकिरिया गरे, त्यहाँ रहेको हाम्रा साथी र त्यहाँको प्रशासनले किरियाको व्यवस्था मिलाइ दिएको थियो, आफ्नो गोजी रित्तो थियो साथीहरुले पैसा उठाएर किरिया बस्ने व्यवस्था मिलाइ दिए, केही साथीहरुले प्रशासनलाई बारम्बार ताकेता गर्थे’ उनले भने, ‘घरमा पुग्न पाउँदा मनशान्त भएको छ, अब जे भए पनि घरमै आमाको बरखी बार्छु।’

दिल्लीले अनुमति दिएपछि यसरी गरियो वासुदेवको उद्धार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad