नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बुवाआमा बसेको चितवनको घरमा गरिएको तोडफोडप्रति दुखेसो पोखेका छन्।
उनले ललितपुरको भैँसेपाटीस्थित आफ्नो घर जलाएर पनि नपुगी बिरामी बुवाआमा बसिरहेको चितवनस्थित घरमा ढुंगामुढा गरिएका चित्त दुखाएका हुन्।
‘यस भिडिओमा सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया बुढी आमाको सुत्ने कोठा हो। उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो’, घरमा आक्रमण गरिएको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै बिहीबार बिहान उनले लेखेका छन्, ‘मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।’
गभर्नर पौडेलका अनुसार चितवनको घर लगभग १५ वर्षअघि उनी विद्यार्थी छँदा नै बनाइएको हो। जहाँ उनी अहिले पनि हरेक हप्ता बाआमासँग बसेर खाना खान पुग्थे।
‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो। केही अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो। ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यहीँ जन्मेका हुन्’, पौडेलले भनेका छन्, जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधैँ कक्षामा फर्स्ट हुन्थेँ। गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयूमा प्राध्यापक भएँ। बाआमा दुवै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ।’
भिडिओ:
Shares

प्रतिक्रिया