समाज


माइतीघरमा जेनजीको प्रदर्शन

माइतीघरमा जेनजीको प्रदर्शन

नेपालखबर
भदौ २३, २०८२ सोमबार १०:४१, काठमाडौँ

जेनजी पुस्ताको प्रदर्शन काठमाडौँको माइतीघर क्षेत्रमा सुरु भएको छ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार तथा बेथितिको विरोधमा जेनजी पुस्ता सोमबार सडकमा उत्रिएको हो। 

हजाराैँ युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन्। स्कुल, कजेजका ड्रेस लगाएर प्लेकार्डसहित युवा पुस्ता सडकमा आएको हो। 

जेनजी पुस्ताले आज काठमाडाैँसहित देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्दैछ। काठमाडाैँमा माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको क्षेत्रमा प्रदर्शन हुनेछ।

जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ। 

जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्।’

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ। आजको प्रदर्शनमा १३ वर्षदेखि २८ वर्ष उमेरसम्मका किशाेर र युवाहरू सहभागी हुने बताइएको छ।

‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्थ्था र व्यक्तिहरूले पनि एक्यवद्धता जनाएका छन्। 

विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन्। 

उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन्। आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad