नेपालको जेनजी युवा पुस्ताको सोमबार हुने प्रदर्शनमा घुसपैठ हुन सक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन्। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो आकलन गरेको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘भोलिको प्रदर्शनमा घुसपैठ हुनसक्छ भन्ने हाम्रो आकलन छ। कानुनविपरितका गतिविधि भए उहाँहरू नै जिम्मेवार हुनुहुन्छ। आन्दोलनको नेतृत्व गर्ने केही व्यक्तिको नाम आएको छ उहाँहरूले नै यसको जिम्मा लिनुपर्छ।’
माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको बिचमा हुने भनिएको प्रदर्शनमा कति मान्छे हुन्छन् भन्ने सुरक्षा निकायले आकलन समेत गर्न सकेका छैनन्।
‘सामाजिक सञ्जालको हल्लाखल्ला हेर्दा धेरै हुन पनि सक्छन्। आकलन गरेजति मान्छे नआउन पनि सक्छन्। राजनीतिक दलहरूको कार्यक्रम भए यति नै हुनसक्छन् भन्न सकिन्थ्यो यो समूहको आकलन हामीले गर्न सकेका छैनौँ’, एक सुरक्षा अधिकारीले भने, ‘तर हामीले जे पनि हुनसक्छ भन्ने हिसावले नै तयारी गर्नुपर्छ त्यही अनुसार गरेका छौँ।’
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख समेत रहेका डीआईजी ओमबहादुर रानाले पर्याप्त संख्यामा रिजर्भ फोर्स राखिएको बताए।
‘राज्यका सम्पत्तिको रक्षा गर्नु हाम्रो कर्तव्य हो। गैरकानुनी गतिविधि भए कानुनी दायरामा ल्याउँछौँ। शान्तिपूर्ण प्रदर्शन गरे त्यही अनुसार हुन्छ’, रानाले नेपालखबरसँग भने।
जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनेका छन्। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ। तर प्रदर्शनमा जेनजी समूह स्वतस्फुर्त सहभागी हुने देखिएको छ। यी युवापुस्ताको प्रदर्शनलाई राजनीतिक दलसहित विभिन्न समूहको समर्थन छ।
जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्।’
आन्दोलन शान्तिपूर्ण, अनुशासित र कानुनी हुने दाबी गर्दै हिंसा, तोडफोड वा अव्यवस्थाले आफ्नो आवाजमा स्थान नपाउने सूचनामा उल्लेख छ।
यो समूहले पनि आन्दोलनलाई आफ्नो स्वार्थ वा पार्टीगत एजेन्डाका लागि अपहरण गर्न वा घुसपैठ गर्ने प्रयास नगर्न खबरदारी गरेको छ। यो राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको उनीहरूको दाबी छ।
शान्तिपूर्ण आन्दोलनमा हिंसा वा अवैध बल प्रयोग गर्ने कुनैपनि प्रयास गरे जेनजी जिम्मेवार नहुने र यस्तो भएका सत्तबाट मानवअधिकार उल्लंघन हुने भनिएको छ।
Shares

प्रतिक्रिया