पर्साकी एक ७ वर्षीय बालिकाको हत्या आफ्नै बुुबाले गरेको खुुलेको छ।
गएको चैत ११ गते बीरगन्ज महानगरपालिका १ छप्कैयाका संजय सरार्फले छोरी अंशू कुमारी सरार्फको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
सरार्फले यसअघि छोरीले आत्महत्या गरेको बताएका थिए। घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको भन्दै सोही दिन आफैं अस्पताल लगेका थिए। अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरीलाई बयान दिएका थिए।
‘हामीलाई उनको कुरामा शंका थियो, ७ वर्षीया बच्चाले आत्महत्या गरेको दावी र घटनास्थलको अवस्था हेर्दा हामीले पत्याउने आधार नै थिएन’, पर्साका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर साहले आइतबार साँझ भने, ‘बुुबाको बनावटी कुुरा रहेछ भनेर उनलाई पक्रेका हौं, पछि वास्तविकता खुल्यो।’
सरार्फले छोरीले जिद्दी गरेको र सुरुमा झापड लगाएर पछि हातले घाँटी थिचेको वयान प्रहरीलाई दिएका छन्। छोरीको जिद्दीका कारण आफूले आवेसमा आएर यस्तो गरेको बयान दिएको डीएसपी साहले बताए।
घटना लगत्तै भने उनले झुण्डिरहेको अवस्थामा फेला पारेको बताएका थिए। घाँटी थिचेर अचेत बनाएपछि बचाउन सकिन्छ कि भन्दै उनले छोरीलाई नारायणी अस्पताल लगेका थिए।
२९ वर्षीय संजयले कसुरबाट बच्नका लागि यस्तो बहना बनाएको प्रहरीलाई बताएका छन्। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी साहले बताए।

प्रतिक्रिया