पीपी प्रसाई फाउन्डेसनले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आज पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२५ बाट सम्मानित गरे।
पूर्वसचिव ढकालको कार्यकालमा नेपाल भ्रमण वर्ष–१९९८ अभियानले उल्लेखनीय सफलता हासिल गरेको थियो। उनकै नेतृत्वमा त्यही वर्ष नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो।
त्यस्तै नेपाल नागरिक उड्डययन प्राधिकरण स्थापना गर्न पनि उनको महत्त्वपूर्ण भूमिका थियो।
पर्यटन क्षेत्रमा उनले पुगरेको योगदानको कदरस्वरूप पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड-२०८२ बाट सम्मानित गरिएको हो।
यसैगरी फाउन्डेसनले प्रदेशस्तरीय ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०८२’ बाट सातजना सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई सम्मानित गरेको छ।
यस वर्ष कोसी प्रदेशबाट केशवराज कट्टेल (फिक्कल माध्यमिक विद्यालय, इलाम), मधेस प्रदेशबाट जितेन्द्र राम (अजिज मियाँ माध्यमिक विद्यालय,पर्सा ), बागमती प्रदेशबाट अप्सरा कुमारी घिमिरे (जनउद्धार माध्यमिक विद्यालय, काठमाडौं), गण्डकी प्रदेशबाट विष्णु घिमिरे (राधा माध्यमिक विद्यालय, तनहुँ), लुम्बिनी प्रदेशबाट प्रभात सुवेदी (बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, बर्दिया), कर्णाली प्रदेशबाट देवेन्द्र तिमिल्सिना उपाध्याय (कर्णाली माध्यमिक विद्यालय, जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट हेमराज विष्ट (धनगढी नमुना प्राविधिक विद्यालय, कैलाली) सम्मानित भएका छन्।
प्रतिष्ठानले प्रत्येक उत्कृष्ट शिक्षकलाई ५० हजार नगदसहित पुरस्कार र सम्मानका साथै पुरस्कृत शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।
देशभरबाट आवेदन माग गरेर शिक्षकको शिक्षण शैली, विद्यार्थीको अतिरिक्त प्रतिभा तथा सीप सिकाइमा प्रोत्साहन, अभिभावक तथा समुदायसँगको सम्बन्ध तथा शिक्षण पेसाप्रतिको समर्पण, तालिमबाट सिकेका ज्ञानको कक्षाकोठामा प्रयोग, सिकाइ उपलब्धि, स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षाविद्, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ।
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईँको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने फाउन्डेसनले जनाएको छ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रूप दिन २०६७ फागुन ६ गते फाउन्डेसन स्थापना गरिएको हो। प्रसाईको आजकै दिन विसं २०५६ भदौ २० (५ सेप्टेम्वर, १९९९) मा हवाई दुर्घटनामा परी निधन भएको थियो।
Shares

प्रतिक्रिया