नेपाली फिल्मको आकाशमा ‘मैयाँ’को रूपमा चम्किएकी रिश्मा गुरुङ पर्दाबाट एकाएक हराइन्। ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को अन्तिम दृश्यमा काजीलाई मायाको कोसेली थमाएको देख्दा दर्शकलाई लागेको थियो– मैयाँ ‘कबड्डी–४’मा पक्कै देखिनेछिन्।
तर, डीभी परेपछि डीभी परेकै युवासँग बिहे गरेर अमेरिका हानिएकी उनी फिल्ममा फर्किनन्। जहाँ पुगे पनि सायद हृदयको कुनामा सधैँ कलाको धुन गुन्जिरहेकै थियो, सात वर्षपछि उनी ‘रिमै’मार्फत अभिनयमा फर्किएकी छन्।
यता चम्किँदा चम्किँदै यत्रो समय किन हराइन् त रिश्मा?
‘बिहे गरेका कारण गायब भएको होइन। अध्ययन सक्नुपर्ने थियो। बीचमा अफर नआएको होइन तर स्क्रिप्ट पनि चित्त बुझिरहेको थिएन। त्यसैले म आफूलाई हराएँ चाहिँ भन्दिनँ,’ नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेकी रिश्माले भनिन्।
यो बीचमा उनले ‘क्रस रोड’ नामक फिल्ममा पनि काम गरिन्। तर, यो फिल्म अहिलेसम्म रिलिज नहुँदा दर्शकले आफूलाई पर्दामा देख्न नपाएको र हराएको महसुस गरेको हुनसक्ने उनको तर्क छ।
‘‘कबड्डी ४’मा चाहिँ मलाई अफर नै नआएर हो। मलाई सम्पर्क नै गर्नुभएन। त्यो कुरामा दाइहरूसँग चित्त पनि दुखेको थियो। अहिले मिलिसक्यो, अब यो कुरा धेरै नकोट्याऊँ होला,’ उनले भनिन्।

अभिनय रिश्माको सपना होइन। सानैदेखि उनी नर्स बन्न चाहन्थिन् तर त्यो पूरा नभएपछि उनी व्यवसायी बन्ने लक्ष्यमा लागिन्। फाइनन्समा मास्टर्स डिग्री समेत गरिन्।
‘सायद ‘कबड्डी’ फिल्म नगरेको भए अहिले म कुनै बैंकमा ठूलो पोस्ट या असिस्टेन्ट म्यानेजरको रूपमा भए पनि काम गरिरहेको हुन्थेँ होला,’ उनले भनिन्।
रिश्माले अभिनयलाई कहिल्यै आफ्नो पेसाका रूपमा लिइनन्। तर, ‘कबड्ड्डी’ले दिएको सफलता र दर्शकको मायाले उनलाई यस क्षेत्रमा रहिरहन प्रेरित गर्यो। काजीसँग जोडेर मैयाँ यति चर्चित पात्र बन्यो कि यसले दर्शकमाझ उनको असली नाम नै बिर्साइदियो।
गुरुङ संस्कृतिमा आधारित भएका कारण ‘रिमै’लाई आफ्नो कमब्याक फिल्म बनाउन रिश्मा तयार भएको बताउँछिन्।
‘जब फिल्म गुरुङ कथामा आधारित छ भनेर प्रस्ताव आयो, मलाई अवसर गुमाउनुहुँदैन भन्ने लाग्यो,’ रिश्मा भन्छिन्, ‘‘रिमै’मा पनि मेरो जोडी दया दाइ (दयाहाङ राई’ नै भएको हुँदा धेरैले काजी–मैयाँ नै फर्किए भनिरहेका छन्। यसले दबाब महसुस गराउँदो रहेछ। तर, यी दुई फिल्मको कथा बिल्कुलै फरक छ, तुलना नगरिदिन दर्शकहरूसँग आग्रह गर्छु।’
फिल्म क्षेत्रबाट विश्राम लिनुअघिसम्म रिश्माले पारिश्रमिक उठाउन धेरै दुःख पाइन्। काम गरेको पारिश्रमिक नपाउने समस्याबारे उनले निर्धक्क बोलिन्। त्यसैले होला, अहिले उनी बदलिएकी छन्।
सम्भवतः नेपालमा उनी मात्रै त्यस्तो कलाकार हुन्, जसले फिल्म सुटिङमा जानुअघि सुरुमै पूरा पारिश्रमिक लिने गर्छिन्।
‘सुरु–सुरुमा कस्तो हुँदोरहेछ भनेर रहरैरहरमा मुभी गरियो। त्यसैले पारिश्रमिकतिर त्यति ध्यान गएन। अहिले त आफूसँग करोडौँ, लाखौँ पैसा भए पनि श्रम गरेर कमाएको एक हजार रूपैयाँको पनि माया लाग्ने रहेछ। पूरा पारिश्रमिक लिएर मात्रै साइन गर्छु भन्ने मेरो सर्तका कारण पनि कतिपय मेकर्स तर्सिएका छन्। तर, यो आवश्यक नै छ,’ उनी सुनाउँछिन्।

रिश्माको अनुभवमा नेपाली फिल्ममा झुटो तारिफ बढी हुन्छ र काम राम्रो गर्दा पनि खुट्टा तान्ने प्रवृत्ति छ।
‘प्रिमियरमा गयो, फिल्म राम्रो नहोस्, तैपनि राम्रो भन्दिहाल्छन्,’ नेपाली फिल्मको यो तीतो यथार्थ देख्दा आज पनि उनी हाँस्छिन्।
पर्दामा मात्रै होइन, पर्दाबाहिर रिश्माको वास्तविक जीवनमा पनि धेरै काजीहरू आएको बताउँछिन् उनी। सानोमा उनको लभ लेटर र उनलाई पछ्याउने प्रेमीहरूका किस्साहरू धेरै छन्। एकपटक एकजना सिंगापुरका लाहुरेले ‘कबडड्डी’ हेरेपछि उनलाई खुब मनपराए। यतिसम्म कि बिहेकै प्रस्ताव राखे।
तर, रिश्माले आफूसँग ब्वइफ्रेन्ड भएको जवाफ दिइन्। लाहुरेको मन भरिएन।
‘उहाँले ब्वइफ्रेन्डको नम्बर माग्नुभयो। म केही नसोची दिएँ। उहाँले त ब्वइफ्रेन्डलाई फोन गरेर सिधै ‘मलाई रिश्मा दिनू, म तपाईंले भन्दा धेरै माया गर्छु’ भन्नुभएछ,’ रिश्माले आफ्नो नाममा यतिसम्म जिद्दी गर्ने लाहुरेदेखि हात काट्ने ‘काजी’हरूसम्म कसैलाई बिर्सेकी छैनन्।

कुराकानीकै क्रममा हामीले रिश्मालाई सोध्यौँ– ‘जीवनमा सबैभन्दा बढी रोएको क्षण कुन हो?’
केही बेरको मौनतापछि उनले अमेरिकामा रहँदा पालेको कुकुर ‘विनी’लाई सम्झिइन्।
‘जब ऊ बित्यो भन्ने समाचार पाएँ, म एकदमै धेरै रोेएँ। धेरै दिनसम्म मलाई गाह्रो भयो,’ त्यसपछि रिश्माको आँशु थामिएन, स्टुडियोमै भक्कानिएर रोइन्।
स्क्रिप्ट रोजेर मात्रै फिल्म गर्ने अभिनेत्रीमा पर्छिन् रिश्मा। यतिखेर दर्शकलाई चासो छ– दसैँपछि सुटिङमा जाने घोषणा भइसकेको ‘कबड्डी–५’मा मैयाँ देखिन्छिन् त? फेरि काजीको जीवनमा उनको प्रवेश होला त?
यो जिज्ञासामा रिश्माले कूटनीतिक जवाफ दिइन्। निर्देशक रामबाबु गुरुङबाट प्रस्ताव आएको कुरा स्वीकारिन् तर फिल्ममा अनुबन्धित भएको स्वीकारिनन्।
‘प्रस्ताव आएको थियो। बाँकी त मैले केही भन्न मिल्दैन। औपचारिक रूपमा उहाँहरूले भन्नुहोला,’ रिश्माले भनिन्।
हेर्नुहोस् ‘लेट्स टक’, जहाँ अभिनेत्री रिश्मा गुरुङले आफ्नो अभिनय करिअर, अमेरिका बसाईंसहित जीवनका अनेक पाटाबारे खुलेर बोलेकी छन् :
फोटो/भिडिओः विशाल कार्की (भिडिओ)
Shares

प्रतिक्रिया