समाज


आईजी थापासहित दुई एआईजीलाई प्रहरी मुख्यालयबाट यसरी गरियो बिदा (तस्बिरहरू)

आईजी थापासहित दुई एआईजीलाई प्रहरी मुख्यालयबाट यसरी गरियो बिदा (तस्बिरहरू)

नेपालखबर
भदौ १८, २०८२ बुधबार १८:४६, काठमाडौँ

३० वर्ष सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक दीपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी र टेकबहादुर तामाङ सेवा निवृत्त भएका छन्। 

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले शुभकामनासहित उनीहरूलाई बिदाइ गरेका हुन्। 

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण रुपमा इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताए। 

कानुनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उनले दाबी गरे। 

संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धीकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधारमार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रित भएको थापाले बताए। 

प्रहरी महानिरीक्षक थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्त्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप
नयाँ उचाई दिने विश्वास व्यक्त गरे।  

संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्। 

प्रहरी महानिरीक्षक थापाले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानप्रति आभार प्रकट गरे। 

समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर
खापुङलाई हस्तान्तरण गरेका छन्। 

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक दिपक थापालगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे। 

सोही अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे। 

सेवा निवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनमा र्पुयाएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवा निवृत्तपछि पनि व्यवहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास व्यक्त गरे। 

संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। 

कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आ–आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभवसहितको धारणा राखेका थिए। 

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापालगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ गरियो। उनीहरूलाई भावना श्रेष्ठ खापुङले शुभकामनासहित बिदाइ गरिन्। 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त भएका आईजीपीलगायतलाई शुभकामनासहित विदाइ गरे। परिवारसहित उनीहरूलाई स्कर्टिङ गरेर निवाससम्म पुर्‍याइएको छ।

अब खापुङले बिहीबार दर्ज्यानी चिह्न लगाएसँगै पदभार ग्रहण गर्नेछन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad