समाज


दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

नेपालखबर
भदौ १६, २०८२ सोमबार १६:३, मुस्ताङ

यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने अनुमान गरिएको छ। मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो।

यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले उल्लेख गरे।

 गतवर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्याङ्ग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा.अर्यालको भनाइ छ। उनका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो। गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्यांक अनुसार यहाँका पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्राको सङ्ख्या रहेको छ। यहाँको पाँच पालिकामा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको कार्यालय प्रमुख डा. अर्यालले बताए।

यहाँको लोमान्थाङ गाउँपालिकामा च्याङ्ग्रा १४ हजार ३९८  र भेडा  एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्याङ्ग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्याङ्ग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८, घरपझोङ गाउँपालिकामा च्याङ्ग्रा चार हजार ४२, भेडा चार सय ३३, बाख्रा एक हजार एक  सय ९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार तीन सय ८३ वटा रहेको जनाइएको छ।

मुस्ताङमा सबै भन्दाबढी च्याङ्ग्रापालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको सङ्ख्यामा भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो। यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्याङ्ग्रा दसैँ तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा. अर्यालले बताए। 

उनले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको सङ्ख्यामा सिनाल प्रजातीका बाख्रा र अन्य जातका बाख्रापालन भइरहेको बताए। यसवर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्याङ्ग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट पाँच हजार बढी च्याङ्ग्रा आउने प्रारम्भिक अनुमान गरिएको छ। 

यहाँको उत्पादन र डाल्पाबाट भित्रिने भेडाच्याङ्ग्रा गरी करिब २० हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङको जोमसोम हुँदै म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसाबाट बाहिरिने पशु चिकित्सक डा. अर्यालको दाबी छ। गतवर्ष मुस्ताङमा प्रतिच्याङ्ग्रा २८ हजारदेखि ३५ हजार मूल्यमा च्याङ्ग्रा बिक्री गरिएको थियो।

आवश्यक प्रक्रिया पुगे तिब्बत्बाट च्याङ्ग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। मुस्ताङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन उत्तरी कोरलानाकाबाट भेडाच्याङ्ग्राका पाठापाठी भित्रिएको बताए। उनले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्याङ्ग्रा नभित्रिएको जानकारी दिए।

‘यहाँ भेडाच्याङ्ग्रा आयात गर्नमा कुनै समस्या छैन, ब्यापारीले चीनबाट पशु क्वारेन्टाइन रिपोर्ट लिएर आउनु पर्‍यो,’ निमित्त प्रमुख राईले भने, ‘यहाँ तिब्बतबाट भित्रिएका भेडाच्याङ्ग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले यहाँ भन्सारमा पशु निरोगितासम्बन्धी प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजस्व काट्छौं।’ 

निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेन्टाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले बैधता प्रदान गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad