समाज


‘एक एक पाइला’ले यसरी मनायो दसौँ वार्षिकोत्सव (तस्बिरहरू)

‘एक एक पाइला’ले यसरी मनायो दसौँ वार्षिकोत्सव (तस्बिरहरू)

तस्बिर: सरोज नेपाल


नेपालखबर
भदौ १४, २०८२ शनिबार १४:९, काठमाडौँ

गैरनाफामुखी संस्था ‘एक एक पाइला’ले १० वर्ष पूरा गरेको अवसरमा शनिबार (भदौ १४ गते) उत्सव मनाएको छ।

आज ललितपुरस्थित यलमाया केन्द्रमा सदस्य, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूको उपस्थितिमा ‘१० वर्षे स्मृति ग्रन्थ’ प्रकाशन र ‘हाम्रा पाइलाहरू’ नामक छोटो डकुमेन्ट्री प्रदर्शन गरी संस्थाले दसौँ वार्षिकोत्सव मनाएको हो। 

पुस्तक र डकुमेन्ट्री दुवैले एक एक पाइला फाउन्डेसनको यात्रा, सहभागी व्यक्ति र सेवा पाएका समुदायको कथा समेटेका छन्। 

सो अवसरमा स्वयंसेवक, शुभेच्छुक, समर्थक तथा समाज कल्याण परिषद्, विभिन्न स्थानीय सरकार, प्रादेशिक स्वास्थ्य कार्यालय र सुरक्षा निकायलाई आभार प्रकट गरेको छ।

नेपालको दुर्गम भूभागमा निःशुल्क र व्यापक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उक्त संस्थाले काठमाडौँस्थित सामुदायिक क्लिनिकमार्फत निरन्तर सेवा प्रदान गरिरहेको छ। 

यो संस्था सन् २०१५ (वि.सं. २०७२) को महाभूकम्पपछि प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सहयोग पुऱ्याउने उद्देश्यले स्वयंसेवकहरूको पहलमा स्थापना भएको हो।

स्थापनाकालदेखि आजसम्म ३४ वटा बहुविषयक स्वास्थ्य शिविर सञ्चालन गरी ३८ हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष सेवा दिएको संस्थाले जनाएको छ।

शिविरहरूमा नेत्र सेवा, दन्त उपचार, स्त्रीरोग, मातृ स्वास्थ्य, बालरोग, अस्थि रोग, नाक-कान-घाँटी (ईएनटी), रेडियोलोजी, क्षयरोग उपचार, पाथोलोजी र सामान्य स्वास्थ्य परामर्शजस्ता सेवा उपलब्ध गराइएको छ।

कोभिड-१९ महामारीजस्ता संकटका बेला पनि स्वयंसेवक र समर्थकले पिछडिएका समुदायसम्म पुगेर हजारौँ जनतालाई आवश्यक र जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध गराएको संस्थाले जनाएको छ। 

सेवालाई दिगो बनाउन संस्थाले काठमाडौँको थापाथलीमा सामुदायिक क्लिनिक सञ्चालन गरेको छ। जसको उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउनु रहेको बताइएको छ। 

यसले सिन्धुपाल्चोकको ठोकर्पामा १५ शैयाको सामुदायिक अस्पताल स्थापना गर्न तथा केही समय सञ्चालन गर्न सहयोग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad