समाज


जन्मदिन रमाइलो गर्न साथीसँग गएका थिए जुम्ल्याहा दाजुभाइ, डुबेर गुमाए चार किशोरले ज्यान

जन्मदिन रमाइलो गर्न साथीसँग गएका थिए जुम्ल्याहा दाजुभाइ, डुबेर गुमाए चार किशोरले ज्यान

गोकुल जोशी
भदौ १२, २०८२ बिहिबार २०:११, कञ्चनपुर

कैलालीमा खोलामा नुहाउन गएका ४ जना किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको डुबेर ज्यान गएको हो।  

खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको प्रहरीले जनाएको छ। मृतकमध्ये २ जना धनगढी उपमहानगरपालिका–५ तारानगर र हसनपुरका हुन् भने २ जना धनगढी उपमहानगरपालिका–४ का हुन्। 

तारानगरका १६ वर्षीय सक्षम जोशी, हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय जेब भण्डारी र १७ वर्षकै जाबेज भण्डारीको डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार जेब र जाबेज जुम्ल्याहा दाजुभाइ हुन्। मृतक चारै जना किशोर धनगढीको वाल्मिकी इन्टरनेसनलमा कक्षा ११ मा अध्ययरत विद्यार्थी थिए।

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी चन्दले बताए। उनीहरू साथीहरूको समूहमा जन्मदिन मनाउन गोदावरी नगरपालिका ९ खुटिया खोलामा पुगेका थिए।

‘त्यहाँ केक पनि काटिएको छ। लुगा फुकालेर तलबाट पारि गएछन्। त्यहाँ केक काटेर केही माथिबाट उनीहरू सातै जना हात समातेर वारि लुगा भएतिर आउँदै रहेछन्,’ डीएसपी चन्दले भने, ‘४ जना गहिरो भागमा फसे। हात फुत्किएर पौडी खेलेर ३ जनाले ज्यान जोगाए।’

उनीहरू बिहीबार दिउँसो साढे १२ बजे बेपत्ता भएका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको हो। 

उनीहरूसँगै गएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुँवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल छन्।

घटनापछि स्थानीय शोकमा डुबेका छन्। धनगढी उपमहानगरपालिका–५ का अध्यक्ष गजेन्द्र शाहीले कलिलो उमेरका किशोरहरूको दुःखद घटना भएपछि विक्षिप्त बनाएको बताए। 

‘जुम्ल्याहा दाजुभाइको एक/दुई दिनअघि जन्मदिन रहेछ। साथीहरुसँग जन्मदिन मनाउन नपाएकाले रमाइलो गर्न खानेकुरा बोकेर आज त्यहाँ गएका थिए,’ उनले भने, ‘दुर्भाग्य त्यस्तो दुःख खबर सुन्नुपर्‍यो।’

धनगढी उपमहानगरपालिका–४ की वडा सदस्य मायाकुमारी भण्डारीका अनुसार वाल्मिकी इन्टरनेसनल स्कुलमा अध्ययन गर्ने उनीहरू स्कुलले बिदा दिएपछि साथीहरूसँग रमाइलो गर्न खुटिया गएका थिए।

मृतक जुम्ल्याहा दाजुभाइको परिवारमा ४ जना मात्रै थिए। जुम्ल्याहा दाजुभाइले डुबेर ज्यान गुमाएपछि आमाबुवा विक्षिप्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad