समाज


रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८२ बुधबार १०:५३, काठमाडौँ

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ। 

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ।

रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए।

आफ्नो भागको बिगो रक़म दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन्। 

यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो। 

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए। 

जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै यकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो।

यस्तै यसअघि रुपन्देही अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि उच्च र सर्वोच्च अदालतबाट थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो। 

तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्नू भनी जिल्लाले आदेश गरेको थियो। रवि हाल ललितपुरकाे नख्खु कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad