समाज


सिद्धलेक गाउँपालिकाका अध्यक्ष सञ्चारकर्मीलाई धम्क्याउन नगर प्रहरीसहित पुगे

सिद्धलेक गाउँपालिकाका अध्यक्ष सञ्चारकर्मीलाई धम्क्याउन नगर प्रहरीसहित पुगे

नेपालखबर
भदौ ९, २०८२ सोमबार १७:५०, काठमाडौँ

धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा सञ्चार माध्यमको कार्यालयमा नगर प्रहरीसहित पुगेका छन्।

समाचारप्रति असहमति जनाउन नगर प्रहरीको समूहसहित पुगेका अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

अध्यक्ष खतिवडाले सञ्चारमाध्यमको कार्यालयमै गई दुर्व्यवहार गर्नुका साथै धम्की दिएको महासंघ धादिङ शाखाले जनाएको छ। शिक्षक सरुवा तथा विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयका आधारमा समाचार प्रकाशन भएकोमा उनको असहमति रहेको शाखाले जनाएको छ।

‘प्रकाशित समाचारप्रति असहमति भए विधि अनुसरण गर्न सकिने व्यवस्था विपरीत पत्रकारमाथि धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो’ महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘अतः महासंघ यस कार्यको निन्दा गर्दै प्रेसको अधिकारमाथि हस्तक्षेप नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ।’

साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कारबाही गर्न महासंघले अख्तियारी प्राप्त निकायसँग माग पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad