संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ।
यहाँस्थित अमेरिकी दूतावासका उप–मिसन प्रमुख जेसन मिक्सले अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गरेका हुन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले उक्त सामग्री बुझेका थिए।
सहयोग सामग्रीमा ल्यापटप, वाकी–टकी, हेडलाइट, सर्चलाइट, दुरबिन, क्यामेरा तथा औषधि उपचार किटजस्ता सामग्रीहरू रहेका दूतावासले आज जनाएको छ।
यस किसिमको सहयोगले नेपालका राष्ट्रिय निकुञ्जभित्र गस्ती कार्यलाई सुदृढ गर्ने, अन्तरदेशीय वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने तथा जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
यसले नेपाल मात्र नभई अमेरिका पनि थप सुरक्षित हुने अमेरिकी दूतावासले जनाएको छ। रासस
Shares

प्रतिक्रिया