काठमाडौँ महानगरपालिका-२६, गोंगबु मित्रनगरस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नं. २०१ मा एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार घटना साउन ३० गते राति ११/१० बजेतिर सार्वजनिक भएको हो। सुनसरीको इटहरी घर भएकी भिममाया लिम्बुले सञ्चालन गरेको सो होटलको दोस्रो तलामा अन्दाजी २५/२६ वर्षकी एक महिला खाटमुनि मृत अवस्थामा भेटिएको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानपछि शवलाई मध्यराति १ः १५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिएको थियो।
पछिल्लो अनुसन्धानमा मृतक नुवाकोट ककनी गाउँपालिका-४ घर भई हाल बूढानीलकण्ठ-२ बस्ने २७ वर्षीया ललिता बिक भएको खुलेको छ।
उनको विवाह करिब दुई वर्षअघि काभ्रे, भुम्लु गाउँपालिका निवासी सन्तोष सेन्चुरीसँग भएको थियो। तर दम्पतीबीच सम्बन्ध राम्रो नभएको परिवारजनले बताएका छन्।
मृतकको बाबुले दिएको जाहेरीअनुसार साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएर लगेका थिए। त्यहीँ होटलमा ललिताको हत्या गरी शव बेडमुनि लुकाएर सन्तोष साथीको कोठामा गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनापछि साउन २८ गतेदेखि ललिता हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए। खोजीमा सन्तोष स्वयं संलग्न देखिए पनि साउन ३० गते दिउँसोदेखि उनी फरार भएका छन्।
हाल मृतकको शव शिक्षण अस्पतालमै राखिएको छ भने बाबुले सन्तोष सेन्चुरीलाई प्रत्यक्ष किटानी गरेर जाहेरी दिएको प्रहरीले जनाएको छ। शव बुझ्ने सम्बन्धमा भने अझै सहमति हुन सकेको छैन।
प्रहरीले फरार अभियुक्त सन्तोषको खोजी तीव्र पारेको जनाएको छ।
Shares

प्रतिक्रिया