विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ। २३ मध्ये ९ जना नेपाली रहेको श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकास बहादुर सिंह (विकाससिंह ठकुरी) र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।
उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन्, 'कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।'
परिषद्ले यसघटनामा दु:ख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको उल्लेख गरेको छ।
कुवेतमा निधन हुने नेपालीको संख्या ९ पुग्यो, १५ भन्दा बढी अस्पताल भर्ना
परिषद्ले यस्ता अवैध र घातक कार्यमा कुनै पनि प्रकारले संलग्न नहुन, आफ्नो स्वास्थ्य र सुरक्षालाई सधैँ प्राथमिकतामा राख्न र कुवेतको कानुनको कडाइका साथ पालना गर्न भनेको छ।
त्यस्तै दूतावासले पछिल्लो ३ दिनमा ९ नेपालीको निधन भएको जानकारी दिएको छ। यो संख्या हिजोसम्मको हो।
'पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,' आचार्यले भने, 'उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ। आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ।'
परराष्ट्र मन्त्रालयले भने यसबारे जानकारी गराउन भनिएको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया