समाज


बीपीको भागबन्डा नमिल्दा फेरि रोकियो ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट

यी हुन् नियुक्तिको सम्भावना भएका उम्मेदवार
बीपीको भागबन्डा नमिल्दा फेरि रोकियो ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट

डा पुजनकुमार रोकाया, प्राडा भरतबहादुर खत्री, प्राडा बुद्धि पौडेल, प्राडा रामेश कोइराला


प्रज्ञा तिम्सिना
साउन २५, २०८२ आइतबार १९:५७, काठमाडौँ

भागबण्डा नमिल्दा ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया पुनः रोकिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबण्डा मिल्न सकेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गत चैत्र महिनादेखि उपकुलपतिविहीन छन्।

गत जेठ १४ गते चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनेको थियो। समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा छन्। समितिले गत असार ४ गते आवेदन माग गरेको थियो। जसमा ५५ जनाको आवेदन परेको थियो।

समितिले साउन २२ र २३ गते ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २४ जनाको अन्तर्वार्ता लिएको थियो। तर, आफूनिकट व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने नेताहरूको दबाबका कारण छनोट प्रक्रिया बिथोलिएको हो।

समितिलाई तीन जनाको नाम सिफारिस गर्न मुस्किल परेको स्वास्थ्य मन्त्रालयले स्रोत बताउँछ। 

मन्त्रालयले साउन २१ गते सूचना प्रकाशन गरेर कार्य विवरण प्रस्तुति र अन्तर्वार्ताका लागि २४ जनाको नाम निकालेको थियो। बिहीबार र शुक्रबार उनीहरूको कार्यपत्र प्रस्तुत र अन्तर्वार्ता भयो।

तीमध्ये ‘टप थ्री’मा भागबण्डा नमिल्दा उपकुलपति सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गर्न नसकेको मन्त्रालयका एक पदाधिकारी बताउँछन्। 

‘समितिले पाटन, पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको नाम टुंगो लगाइसकेको छ,’ उनले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबण्डामा सहमति नहुँदा समितिले छनोट प्रक्रिया अघि बढाउन सकेको छैन।’

समितिले तीन जनाको नाम पठाएपछि मात्र तीमध्येबाट एकजनालाई मन्त्रिपरिषदले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ।

‘बीपीमा कुरा नमिल्दा ४ जनाको नाम आएको छ,’ उनले भने, ‘अन्तर्वार्तापछि शुक्रबार रातिसम्म छलफल भएको थियो, तर धरानका लागि तीन जनाको नाम टुंग्याउन सकिएको थिएन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुस्किल परेको हो।’
 
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कांग्रेसको भागमा परेको छ। प्रतिष्ठानमा प्राडा प्रल्हाद कार्की, प्राडा रोहितप्रसाद यादव, प्राडा विक्रमप्रसाद श्रेष्ठ, प्राडा रामेश कोइरालाको नाम आएको छ। 

डा रामेशबाहेक तीनै जना प्रतिष्ठानमा नै कार्यरत छन्। धरानमा दुई जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। अन्य दुईमा एकजना कांग्रेस नेता डा शेखर कोइराला र अर्को एकजना महामन्त्री गगन थापा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलनिकट मानिन्छन्। 

मन्त्रालय स्रोतका अनुसार चार जनामध्ये प्रा डा रामेश कोइराला नियुक्त हुने सम्भावना बढी छ। 

पाटन स्वास्थ्य विज्ञान 
सिफारिस समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागि प्राडा बुद्धि पौडेल, प्राडा सिर्जना शर्मा र प्राडा गेहनाथ बराल नाम छनोट गरेको छ। डा बुद्धि पौडेल र सिर्जना शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै कार्यरत छन्। जहाँ प्राडा बुद्धि पौडेलको सम्भावना बढी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

बाथरोग बिशेषज्ञ डा पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक मानिन्छन्।

प्राडा सिर्जना शर्मा बालरोग विशेषज्ञ हुन्। उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वडिन समेत हुन्। 

प्रसूतिरोग विशेषज्ञ प्राडा गेहनाथ बराल भने नेपाल अनुसन्धान परिषद्को पूर्वअध्यक्ष हुन्। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
समितिले पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा कार्यरत प्राडा भरतबहादुर खत्री, प्राडा चण्डिका पण्डित र प्राडा माया लामाको नाम छनोट गरेको छ। जसमा एमालेनिकट भरतबहादुर खत्रीको बढी सम्भावना देखिएको मन्त्रालय स्रोतले जनाएको छ। 

अस्पताल निर्देशक समेत रहेका डा खत्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति समेत हुन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 
समितिले कर्णालीमा नै कार्यरत तीन जनाको नाम सूची तयार पारेको छ। उपकुलपतिमा डा पुजनकुमार रोकाया, डा डबलबहादुर धामी र डा सूर्यमान मेन्याङ्बोको नाम शीर्ष तीनमा छनोट भएको छ। 

हाडजोर्नी रोग विशेषज्ञ डा रोकाया १२ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्। उनी हाल कर्णाली अस्पतालका निर्देशक समेत हुन्। एमालेनजिक उनकै सम्भावना ज्यादा रहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

डा धामी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै कार्यरत छन्। क्लिनिकल फर्माकोलोजी अध्ययन गरेको डा धामी निमित्त उपकुलपति हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad