समाज


काठमाडौँमा ‘डाइभर्सिटी कार्निभल’ हुँदै, चमार समुदायबाट पहिलो डाक्टर स्मृतिले ‘कि नोट स्पिच’ दिने

काठमाडौँमा ‘डाइभर्सिटी कार्निभल’ हुँदै, चमार समुदायबाट पहिलो डाक्टर स्मृतिले ‘कि नोट स्पिच’ दिने

डाक्टर स्मृति हरिजन र महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बा


नेपालखबर
साउन २५, २०८२ आइतबार १०:५८, काठमाडौँ

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा दलितलगायत देशभरका विविध समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवाको सहभागितामा सोमबार काठमाडौँमा ‘डाइभर्सिटी कार्निभल’ आयोजना गरिने भएको छ। 

कार्यक्रममा चमार मसुदायबाट देशकै पहिलो डाक्टर स्मृति हरिजनदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बासम्मले आफ्नो धारणा राख्ने आयोजक दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले जनाएको छ। 

उत्प्रेरक अन्तरक्रिया, कार्यशाला र सिर्जनात्मक प्रस्तुति रहने कार्यक्रममा डा. स्मृतिले ‘कि नोट स्पिच’ दिनेछिन् भने महिला फुटबल टिमकी क्याप्टेन सुब्वा, कलाकार नाजिर हुसेनले ‘सपना, संघर्ष र सफलता’ शीर्षकको ‘प्यानल डिस्कसन’मार्फत आफ्नो विचार प्रस्तुत गर्नेछन्।

उक्त प्यानलमा नेपाल सरकारको उपसचिव सुनीलकुमार पासवान र रेन्वो डिसबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले सीमान्त आवाज साझा गर्नेछन्।

उत्सवमा महिलाहरूको ब्यान्ड ‘कासा’ र सारंगीवादक किरण नेपालीको समूहले सांगितिक प्रस्तुति दिनेछन् भने एउटै क्यानभासमा चार जना कलाकारले ‘पेन्टिङ’ गर्नेछन्।

सीमान्त आवाज सुनाउँदै नेपालको विविधतालाई उत्सवका रूपमा मनाउन डाइभर्सिटी कार्निभल आयोजना गरिएको आयोजकले जनाएको छ। 

कार्यक्रममा युवाहरू समूहमा बाँडिएर सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयक कार्यशालामा गहन छलफल गर्नेछन्। उनीहरूको छलफलबाट आएको निष्कर्ष र सुझाव सम्बन्धित निकायमा बुझाइने दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारले जानकारी दिए।

कार्यक्रममा देशैभरिबाट दलित, मधेसी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति तथा विविध यौनिक तथा लैंगिक पहिचानका युवा  सहभागी हुने आयोजकले जनाएको छ।

विविधता र समावेशीताका बहस र छलफल भए पनि उही पात्र दोहोरिरहने भएकाले सुन्नैपर्ने र नसुनिएका कथा उजागर गर्न उत्सवको आयोजना गरिएको संस्थाका अध्यक्ष परियारको भनाइ छ। 

युवाहरूले समावेशीताको मुद्दामा बोल्नुपर्ने र आफैँभित्र पनि त्यसको अभ्यास गर्न यो कार्यक्रमले टेवा पुग्ने उनको विश्वास छ।

जातीय असमानता, अपमान र प्रतिकूलताविरुद्ध रचनात्मक प्रतिरोधी पुस्ता निर्माणका लागि स्थापना भएको संस्था दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सीमान्तकृत आवाज उठाउने यस किसिमका विभिन्न कार्यक्रम गरिरहेको छ। 

अन्तरजातीय विवाहका कारण रुकुमपश्चिममा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएपछि स्थापना भएको यस संस्थाले युवाको विचार सुन्न कास्ट कन्भर्सेसन नामको टेलिभिजन कार्यक्रम, मार्च टु जस्टिस अभियान, न्यायका लागि उत्तरदायी समाज र राज्यका लागि जस्टिस समिटलगायत अभियान सञ्चालन गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad