समाज


शंखमूलको सडक: असारे विकासको कुरुप नमूना

शंखमूलको सडक: असारे विकासको कुरुप नमूना

नेपालखबर
साउन २५, २०८२ आइतबार ७:३८, काठमाडौँ

‘झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन। अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ’,  शङ्खमूलस्थित शुभद्रा भट्टराईले भनिन्। 

शङ्खमूलस्थित वडा नम्बर ३१ को सडकको बिजोग देखेर उनी दिक्दार छिन्। 

यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो। तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ।  ‘घर आउने यो बाटोको अर्को विकल्प छैन। दिनहुँ हिँड्नै पर्छ, हिँडेपछि सास्ती। अस्ती सानी नातिनी हिलोमा चिप्लिएर लडी। हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ’, बुटवल घर भई हाल शङ्खमूल डेरा गरेर बस्ने भट्टराईले भनिन्।

कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन्।

जेठ-असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन्। दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोसित छन्।

वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको छ। तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवातजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छिन्।

सकड हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ। स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ। अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँड्डुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए।

सडक खन्ने पनि जनताले कसरी हिँड्डुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उनले बताए।  ‘मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन ? विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खामासमा ’, उनले भने,  ‘वडाले चाँडोभन्दा चाँडो हिलोबाटोलाई व्यवस्थापन गरेर हिँड्डुल गर्न सक्ने बनाउनुपर्छ।’

कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए। शङ्खमूल गणेशमार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad