कारागार कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई राखिएको भन्दै प्रकाशित समाचारमा देखाइएको तस्बिर कारागारको नभएको स्पष्ट पारेको छ।
साथै, सञ्चारमाध्यमहरूमा आएजस्तो कारागारको अवस्था पनि नरहेको जिकिर गरेको छ।
कारागार कार्यालयको विषयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै ‘समाचारमा प्रकाशित तस्बिर यस कारागार भित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको’ शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ।
कारागार प्रशासनले समय समयमा उनलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको बताएको छ।
अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरिएको, उनले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ।
‘सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनुहुन र कार्यालयसँग आधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ’ कारागार प्रशासनले भनेको छ।

Shares

प्रतिक्रिया