काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ दुई जनाको सम्पर्कमा आएका काठमाडौं महानगरपालिका वडा नं ५ का ३९ जनाको कोरोना परीक्षण गरिएको छ। र्यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ।
संक्रमितहरु महानगरपालिकाको ५ नम्बर वडा कार्यालयको सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाको र्यापिड टेस्ट भएको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्यापिड टेस्ट गरेको बताए। वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले पनि उनीहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र काम सम्पन्न गरेर पठाएको जानकारी दिए।
‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुवै जना बुढाबुढी आउनु भएको थियो। हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भने ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्यापिड टेस्ट गर्यौं। उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।’
काठमाडौं क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी दिएका छन्। उनले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिए।

प्रतिक्रिया