पछिल्लो समय सरकारले कोरोना भाइरस संक्रमणको दायरालाई बढाएको छ। कोरोना संक्रमित पत्ता लगाउन सरकारले दुई प्रकारको परीक्षण गर्दै आएको छ– र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर)।
आरडीटीमा पोजिटिभ देखिएकाहरुको पीसीआरबाट निक्र्यौल गर्ने गरिएको छ। किनभने आरडीटी पीसीआरभन्दा चाँडो नतिजा दिने र जाँच गराउन सहज हुन्छ।
तर, आरडीटीमा निगेटिभ देखिएकाहरुको प्रायः पीसीआर परीक्षण गरिँदैन।
त्यसैले, आरडीटीमा निगेटिभ आएको व्यक्तिलाई थप परीक्षण नगरी छाडिँदा त्यसले संक्रमण फैलाउनसक्ने जोखिम रहेको विज्ञहरुले बताएका छन्। यस्तो ‘फल्स निगेटिभ’ नतिजाप्रति सचेत रहन सरकारलाई उनीहरुले आग्रह गरेका छन्।
कोरोना संक्रमण नहुने तर संक्रमण देखिने अवस्थालाई जनस्वास्थ्य विज्ञहरु ‘फल्स पोजेटिभ’ भन्छन्। त्यस्तै, कोरोना भाइरसबाट संक्रमित हुने तर परीक्षणमा नदेखिने अवस्थालाई ‘फल्स निगेटिभ’ भनिन्छ।
आरडीटीमा एन्टिबडी प्रोटिन परीक्षण गरिन्छ। जसका माध्यमबाट संक्रमित देखिन निश्चित समय लाग्छ।
अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्येता डा. रौनक श्रेष्ठ एन्टीबडी बन्न संक्रमित भएपछि सात दिन लाग्ने बताउँछन्।
‘यो एन्डीबडी प्रोटिन बन्नलाई केही दिनको समय लाग्छ। त्यसैगरी भाइरस संक्रमण भई लक्षण देखिएको सात दिनपछि मात्रै परीक्षण गराउँदा र्यापिड टेस्टको नतिजा पोजिटिभ आउनसक्छ,’ श्रेष्ठले भने।
सरकारले मंगलबार दिएको जानकारीअनुसार सरकारले आरडीटी र पीसीआर माध्यमबाट १३ हजारभन्दा बढी परीक्षण गरिसकेको छ। जसमा आरडीटीबाट ६ हजार ६ सय ७ जनाको परीक्षण गरिएको छ।
महामारी फैलिएपछि विदेशबाट फर्किएका र कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरुलाई लक्षित गरेर यो परीक्षण गरिएको छ। यो परीक्षणबाट केही संक्रमित पनि पत्ता लागेका छन्।
तर, बाग्लुङकी एक र पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक गरी दुई महिलामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपनि पछि पीसीआर परीक्षण निगेटिभ आएको छ।
त्यस्तै, कैलालीमा एक महिलामा आरडीटीबाट निगेटिभ देखिएपनि पीसीआरबाट पोजिटिभ पुष्टि भएको थियो।
कतिपयले चीनबाट ल्याएको र्यापिड डाइग्नोस्टिक टेस्ट किटको विश्वसनीयतामाथि प्रश्न गरेका छन्।
एन्टीबडी टेस्ट गर्दा रगत र पीसीआर गर्दा व्यक्तिको नाक वा मुखबाट लिएको स्वाब परीक्षण गरिन्छ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को मान्यता नदिएको आरडीटीका विषयमा युरोपलगायत अन्य मुलुकमा पनि प्रश्न उठेका छन्। तर चाँडो नतिजा दिने र धेरै प्राविधिक ज्ञान नभएको व्यक्तिले समेत परीक्षण गर्न सक्ने भएकाले थुप्रै मुलुकले यसको प्रयोग गरिरहेका छन्।
कोरोना संक्रमणको मामिलामा फल्स निगेटिभ बढी जोखिमपूर्ण हुने भएकोले त्यसतर्फ स्वास्थ्य अधिकारीहरुले ध्यान दिनुपर्ने माग गरेका छन्।
‘अहिलेको समस्या भनेको फल्स पोजिटिभ होइन, फल्स निगेटिभ हो। त्यसैले आरडीटीबाट परीक्षण गर्दा निगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन,’ सरुवा रोग विज्ञ ल्हामो याङचेन शेर्पा भन्छिन्, ‘आरडीटीमा संक्रमित देखिएन भनेर क्वारन्टिनमा नबस्दा त्यसले ठूलो रुप लिनसक्नेतर्फ सचेत रहनु पर्छ।’
शेर्पाले फल्स पोजिटिभ र फल्स निगेटिभबाट बच्नका लागि आरडीटी र पीसीआर दुवै विधिबाट परीक्षण हुनुपर्ने बताइन्।
इपोडिमोयोलोजी तथा रोग नियन्त्रण विभागका प्रमुख डा. वासुदेव पाण्डेले आरडीटीबाट परीक्षण गर्दा निगेटिभ आएका १० प्रतिशतमा पीसीआर परीक्षण हुने जानकारी दिए।
‘आरडीटीमा गरिने एन्टीबडी परीक्षण हो। यो परीक्षण विदेशबाट आएको वा संक्रमित भएको व्यक्तिसँग सम्पर्कमा भएको व्यक्तिको १४ दिनपछि मात्रै गर्दछौं। त्यसअघिको पीसीआर परीक्षण गर्ने गरेका छौं,’ पाण्डेले भने, ‘त्यसैगरी आरडीटी परीक्षण गराउँदा निगेटिभ भएका १० प्रतिशत व्यक्तिको समेत पीसीआर परीक्षण हुने गरेको छ। तर कुनै पनि परीक्षणले ठ्याक्कै सही परिणाम दिँदैन। आरडीटीभन्दा पीसीआर बढी विश्वासनीय हो।’
Shares
प्रतिक्रिया