मोरङ, गोरखा र सप्तरीमा भएका माेटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिका- ४ मा को.३८ प ९६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका- ६ बस्ने ७० वर्षीया लिलम दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारकाे लागि विराट नसिङ होम विराटनगर लगिएकाे थियाे। उनकाे उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरि गोरखाको गोरखा नगरपालिका-१० विरेनचोकमा लु. ६१प ४६८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको चितवनकाे भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-३ मा स.८ प ५९१९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ३० वर्षीय शत्रुधन सदाको मृत्यु भएको छ।
गएराति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अर्का एक जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया