समाज


प्रहरीको एसएसपी बढुवा सिफारिस विवादमा, उजुरी सुनुवाइ समितिले मगायो फाइल

प्रहरीको एसएसपी बढुवा सिफारिस विवादमा, उजुरी सुनुवाइ समितिले मगायो फाइल

नेपालखबर
साउन १३, २०८२ मंगलबार १७:३१, काठमाडौँ

नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस विवादमा परेको छ। गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा साउन ५ गते बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। 

तर सिफारिसविरुद्ध एसपी बिमल बस्नेत उजुरी सुनुवाइ समितिमा पुगेका हुन्। 

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा हुने सुनुवाइ समितिमा मुख्य सचिव र कानुन सचिव सदस्य हुन्छन्। यो समितिले एसपी बस्नेतको उजुरीमा टुंगो नलगाएसम्म एसएसपी बढुवा रोकिनेछ। 

बस्नेतले साउन ९ गते नै समितिमा उजुरी गरिसकेको बताएका छन्। बस्नेतको उजुरीपछि समितिले एसएसपी बढुवाका फायल झिकाएको छ। समितिले छलफल गरी यस विषयमा निर्णय नगरेसम्म गृहमन्त्री रमेश लेखकले बढुवाको निर्णय गर्न मिल्दैन। 

साउन ५ गते एसपीहरु तुलबहादुर कार्की, रोकश सिंह, राजिवबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। 

२०५८ सालमा भर्ना भएको र आफूभन्दा पछि एसपी भएको टोली एसएसपीमा बढुवा हुँदा आफूलाई छुटाइएको भन्दै बस्नेतले उजुरी गरेका हुन्। 

बस्नेत २०७४ साउन १९ गते एसपीमा बढुवा भएका थिए। उनकै टोलीका प्रहरी अधिकारीहरु अहिले एआईजी र डीआईजी भइसकेका छन्। तर बस्नेतलाई भने छुटाइँदै आएको छ। 

एसएसपीमा बढुवाका लागि सिफारिस भएका तुलबहादुर कार्की, राकेश सिंह र राजिबबहादुर बस्नेत २०५६ सालमा भर्ना भएका थिए। 

तर अहिले एसएसपी बनेका बाँकी ८ जना भने २०५८ सालमा भर्ना भएको टोलीका हुन्। उनीहरु एसपी बन्दा पनि बस्नेत भन्दा पछि भएका थिए। बस्नेतलाई भने प्रहरीले ५ वर्ष बढुवा रोक्काको कारबाही गरेको थियो। त्यसविरुद्ध बस्नेत अदालत पुगेका थिए। 

उच्च अदालत पाटनले २०७९ कात्तिक २ गते बस्नेतलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न माग गर्दै निवेदन दियो। 

उच्च अदालतले बस्नेतसँगै रामेश्वर यादवलाई पनि सफाइ दिएको थियो। प्रहरी प्रधान कार्यालयले भने सर्वोच्चमा बस्नेतलाई मात्रै विपक्षी बनाउँदै यादवलाई जोगाएको थियो। 

सर्वोच्चबाट पनि बस्नेतले सफाइ पाइसकेका छन्। २०८२ असार १ गते सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले उच्चकै फैसला सदर गरिदिएको छ। 

तर सर्वोच्च अदालतबाट सफाइ पाइसक्दा पनि प्रहरी प्रधान कार्यालयले भने आफूलाई अन्याय गरेको बस्नेतको दाबी छ। उनले अहिलेको बढुवा प्रक्रिया बदर गरी जेष्ठताका आधारमा आफूलाई पहिलो नम्बरमा एसएसपीमा सिफारिस गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad