समाज


दिउँसो यी प्रदेशका पहाडमा ‘भारी वर्षा’ हुने सम्भावना

काठमाडौँसहित देशका धेरैजसो स्थानमा वर्षा जारी
दिउँसो यी प्रदेशका पहाडमा ‘भारी वर्षा’ हुने सम्भावना

नेपालखबर
साउन १२, २०८२ सोमबार ६:२४, काठमाडौँ

यतिबेला (सोमबार बिहान ६ बजे) देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमिवद् हरिप्रसाद दाहालका अनुसार अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। 

बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकामा पनि अहिले पानी परिरहेको छ। 

‘काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि अहिले हल्का वर्षा भइरहेको छ’, मौसमविद् दाहालले भने, ‘काठमाडौँ उपत्यकामा विगत ६ घण्टादेखि वर्षा जारी छ। तर अहिले उपत्यकाका धेरैजसो स्थानमा पानी पर्न रोकिइसकेको छ। केही समयपछि बाँकी स्थानमा पनि पानी पर्न रोकिने सम्भावना छ तर दिउँसो/अपराह्न फेरि वर्षा हुने सम्भावना छ।’ 

यसैबीच मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो: देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति: देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाड भूभागका केही स्थानतथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। 

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad