समाज


ऋणमा डुबेकी पार्वतीलाई जब १ करोडको पुरस्कार पर्‍यो...

ऋणमा डुबेकी पार्वतीलाई जब १ करोडको पुरस्कार पर्‍यो...

नेपालखबर
साउन ११, २०८२ आइतबार १३:५८, काठमाडौँ

यही साउन २ गते शुक्रबारका दिन। घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडिन्।
    
मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेका छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो। त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन्।
    
जब पार्वती मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन्। कार्की घर फर्केर काम गर्दैगर्दा फेरि फोनको घण्टी बज्यो। उनले फोन उठाइन्। फोन काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ। फोनमा बोल्ने व्यक्तिले उहाँको परिचय खोतल्ने प्रयास सुरु गरे। नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेस्र्याए। उनले सबै जवाफ दिए।
    
एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने। कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो। किन भनेर सोधिन्। ‘तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस्’ भन्ने जवाफ पाइन्। कार्कीले पछि मिलाएर आउँछु भनिन्। त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौँमा सम्पर्क गर्न भनियो।
    

‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ’, उनले भनिन्, ‘सुरुमा पुरस्कार पर्‍याे भन्नेमा कसैलाई पत्यार लागेन। फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने लाग्याे।’
    
तर जब काठमाडौँमा रहेका देवरले पनि याे खबर सुनाए अनि उनलाई राम्रै उपहार परेको हो की भन्ने लाग्याे। देवरले एकपटक काठमाडौँ आउनुहुन्छ त? भनेपछि मात्र उgलाई साँच्चिकै पुरस्कार नै परेकाे हो की भन्ने भयो।

मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै उनी काठमाडौँका लागि गाडी चढिन्। भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन्।

‘एनसेल कार्यालय आउँदासम्म मलाई के र कति उपहार परेको हो भन्ने थाहै थिएन’, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो। सुरुमा त मैले यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन।’
    
कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झण्डै आठ वर्षअघिको रहेछ। स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि उनले एनसेलकाे ‘सीमकार्ड’ किनेकी थिइन्। बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्थिन्। उनले भनिन्, ‘आज त्यही प्याकले एक करोड रुपैयाँ जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ।’
    
उनकाे जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ। जीवन सहज बनाउन श्रीमान्सँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ। श्रीमान्ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ।
    
यद्यपि भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई। ‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ’, उनले भनिन्। उनको जीवनमा ब्रजपात त तब पर्‍याे, जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो। विसं २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्‍याे।
    
धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ। विदेशमा श्रीमान्ले कमाउनेबाहेकको आयस्रोत छैन। यद्यपि महिला स्वयंसेविकाका रुपमा थोरै भए पनि भत्ता आउँछ।  त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउछिन्।

गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेकी थिइन्। त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो। त्यसको केही वर्षपछि छोरा जन्मियो। आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागर्पछि घर सम्हालने जिम्मा उनको काँधमा आयो।
    
खाडीको चर्को गर्मीमा श्रीमान्ले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउँदै आएका छन्। त्यही रकमले घरखर्च चलाउँदै आएकी छन् उनले। तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे। धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए। केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनेले श्रीमान्लाई देशमै जागिर गर्न सुझाव दिइन्।

‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्‍याैँ’ उनले विगत सम्झिँदै भनिन्। तर भाग्यले त्यहाँ पनि ठग्यो। ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो। लगानी निमेषभरमै खेर गयो।
    
ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन। नौ लाखमा सुरु  गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन। एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे। तर त्यहाँ पनि भने जस्तो काम पाएनन्।

ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उनी अहिले पनि बहराइनमै छन्। ‘दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ’, उनले भनिन्।
    
एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ। यो रकम उनका लागि धेरै ठूलो हो। यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ।

प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ। लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उन खुसी छिन्। ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन’, उनले भनिन्।

ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको। ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं’, उनले भनिन्। साथमा छोराले ‘प्लस टु’ पढिरहेको छन्। उसको पढाइमा पनि ठूलो खर्च हुन्छ। बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad