समाज


धरहरा परिसरमा भीमसेन थापाको शालिक बन्ने

धरहरा परिसरमा भीमसेन थापाको शालिक बन्ने

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १९:४७, काठमाडौँ

राष्ट्रिय विभूती भीमसेन थापाको २५१ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ।

शुक्रबार काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा भीमसेन थापाको तस्बिरमा माल्यार्पण गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरी भीमसेन थापाप्रति सम्मान प्रकट गरेका छन्। 

कार्यक्रममा उपस्थित व्यक्तिहरूले राष्ट्रिय विभूती थापाको प्रधानमन्त्रीत्वकालमा भए गरेका सबै कामहरू नयाँ पुस्तामाझ ल्याउनुपर्ने बताए। 

आउँदो वर्षभित्र धरहरा परिसरमा भीमसेन थापाको शालिक निर्माण गर्ने जानकारी पनि दिइएको छ। 

धरहराका जननी भीमसेन थापाले राजधानी काठमाडौँको टुँडिखेल नजिक बाघदरबारको छेउमा एक जोडी धरहरा बनाउन लगाएका थिए। विसं १८८२ मा समानान्तर रूपमा दुई धरहरा ठड्याइएका थिए।

तर १८९० भदौ १२ गते आएको ठूलो भूकम्पले दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो। पछि पूरै ध्वस्त भएको धरहरा छोडी केही मात्र क्षति भएको धरहराको पुनःनिर्माण गरियो। उक्त पुनः निर्मित धरहरा १०० वर्षपछि अर्थात् १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो। 

तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुननिर्माण गराए। विस १९९२ सालमा पुनःनिर्माण गरिएको धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ।धरहरा भीमसेन थापाको कीर्ति भएकाले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ।

विस १८६३ देखि १८९४ सम्म करिब ३१ वर्ष देशको शासन सम्हालेका उनले कतिपय शासकीय सुधार, आर्थिक सुधार र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका कामहरू गरेका छन्। उनले कमाराकमारी प्रथा उन्मूलनको घोषणा गरेका थिए भने दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने कुप्रथामाथि पनि प्रतिबन्ध लगाएका थिए। 

यसैगरी, समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहुमहाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने ‘बेठबेगार’ प्रथा तथा अनावश्यक भोजभतेर र दानदक्षिणाको चलन पनि हटाएका थिए। 

नेपाली सेनाको प्रधानसेनापति समेत भएका भीमसेन थापाले सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

नेपाली सेनालाई आधुनिकीकरण र सुदृढ बनाउन फ्रान्सको सहयोग लिएर आधुनिक तालिम, हतियार, पोशाक, व्यारेक, युद्धमा जाँदा सहयोगी भरिया दिने आदिको व्यवस्था गरेको पाइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad