ad ad

समाज


कोठामा भित्तेपात्रोबिनै सुरु भयो नयाँ वर्ष

कोठामा भित्तेपात्रोबिनै सुरु भयो नयाँ वर्ष

पूर्णप्रसाद मिश्र
बैशाख २, २०७७ मंगलबार २:१२,

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु भएको छ।

तर नयाँ वर्ष सुरु भएपनि धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेको छैन। पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन।

बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो। चीनको वुहानमा पुसमै शुरु भएको कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो।

चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो। यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन्।

चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरु भएको बन्दाबन्दी चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन।

कागेश्वरी मनोहरा नगरपालिका–५ का विदुर सापकोटा आफ्नो घरमा पात्रो भए पनि भित्तेपात्रो नहुँदा नयाँ वर्ष आए पनि नआएजस्तो लागेको बताउँछन्। गते, बारलगायत विषय हेर्न प्रयोग गरिने पात्रो भित्तामा नहुँदा असहज भएको उनले बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाको सङ्क्रान्तिका दिन गुरु पुरोहितबाट मास फल सुन्ने गर्छन्। घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख सङ्क्रान्तिमा यो परम्परामा समेत प्रभाव प¥यो। सौर मासअनुसार वर्षका १२ संक्रान्तिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ।

वैशाख, साउन र माघ महिनाको सङ्क्रान्ति त अझ विशेष मानिन्छ।

वैशाखमा सूर्य मेष राशिबाट भ्रमण शुरु गर्ने दिन अर्थात् विक्रम संवत्अनुसार नयाँ वर्ष, साउन सङ्क्रान्तिदेखि दक्षिणायन र माघ सङ्क्रान्तिदेखि उत्तरायण शुरु हुने भएकाले यी तीन सङ्क्रान्तिलाई विशेष रूपमा मनाउने प्रचलन पनि प्राचीनकालदेखि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्।

वैशाख १ गतेलाई वर्षकै पहिलोका साथै जेठो दिनका रूपमा पनि लिइन्छ। यति महत्व भएको दिन सङ्क्रान्ति फल सुन्न नपाउँदा गोकर्णेश्वर नगरपालिका–६ का ध्रवप्रसाद बराललाई नरमाइलो लाग्यो। घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित पनि आउन नसकेका उनले सुनाए।

नेपालमा प्रकाशित भइरहेको पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा भित्तेपात्रो तयार भएर घर एवं प्रेसमा थुप्रिए पनि बजारमा पठाउन नसकिएको भन्दै सामाजिक सञ्जालमा दुःख प्रकट गरेका छन्।

पन्तले चतुर्भज प्रकाशनमार्फत पात्रो, सजिलोका लागि दुईथरि भित्तेपात्रो र गोजीपात्रो पनि प्रकाशन गर्दै आएका छन्।

विसं १९४७ मा तोयनाथ पन्तले शुरु गरेको पात्रोलाई उनका चौथो पुस्ताले भित्तेपात्रो, गोजीपात्रोसहित निरन्तरता दिँदै आएका छन्। यस वर्ष तयार भएको भित्तेपात्रो उपभोक्ताका पु¥याउन नसकेकामा पन्त परिवारलाई नरमाइलो लागेको छ।

सूचना विभागबाट प्रकाशन हुने वर्षभरको बिदालगायतको आधिकारिक विवरण हुने भित्तेपात्रो यस वर्ष पाउन नसकिएको धेरै मानिसको गुनासो छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा विभागले तिथि, मिति चाडपर्वलगायतको आधिकारिक जानकारी पनि दिने गरेको छ।

समितिबाट स्वीकृत भई पात्रो प्रकाशन भएर बजारमा गएपछि त्यसैका आधारमा धेरै सरकारी कार्यालय, सङ्घसंस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्रो पनि यस वर्ष प्रभावित भएका छन्।

देश सङ्घीयतामा गएसँगै प्रदेश सरकार र स्थानीय तहले पनि भित्तेपात्रो प्रकाशन गर्न थालेका थिए। चैतको अन्तिममा पात्रो एवं भित्तेपात्रो किन्नेले भने यस वर्ष बन्दाबन्दी हुँदा सेवा पाउन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .