ad ad

ग्लोबल


जब छोरालाई गोली हान्ने व्यक्तिलाई बाबुले भेटे

जब छोरालाई गोली हान्ने व्यक्तिलाई बाबुले भेटे

आर्यनका पिता सियानन्द मिश्रा


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १६:५३,

अँध्यारो सिँढी तेस्रो तलाको फ्ल्याटसम्म पुग्छ। उमा मिश्रा सिँढीमै अडेसिएर बसेकी छन्। उनको आँखामा आँसु सुकिसकेको छ।

कोठाभित्र १९ वर्षीय आर्यन मिश्राको तस्बिरमा माला झुण्डिरहेको छ। बाहिर खुला छतमा आर्यनका बुवा सियानन्द मिश्रा फोनमा पत्रकारहरूसँग कुरा गर्न व्यस्त छन्।

फोन बारम्बार आइरहेको छ। सबैलाई उनी एउटै कुरा सुनाइरहेका छन्, ‘अब हामीलाई मिडियाको कुनै आवश्यकता छैन। हाम्रो छोराले अब इन्साफ पाउने छैन।’

राजधानी दिल्लीसँगै जोडिएको हरियाणाको फरिदाबादमा २३ अगस्तको राति उनका छोरा आर्यनको हत्या भएको थियो। जसको आरोपमा पुलिसले आफूलाई गोरक्षक भनेर चिनाउने पाँच जनालाई गिरफ्तार गरेको छ।

सो घटनाको विवरण भर्खर सार्वजनिक हुँदैछन्। अधिकांश रिपोर्टहरूका अनुसार १२ कक्षाका विद्यार्थी आर्यनलाई २३ अगस्टको राति १ बजे एउटा फोन आयो। फोन गर्ने उनका दुई साथी थिए। जो उनकै घरबेटीका छोरा हुन्। उनीहरूले राति चाउचाउ खान जाऔँ भने।

आर्यनकी आमा उमा मिश्रा

आर्यन उनीहरूसँगै घरबेटीको रातो डस्टर कारमा चढे। घरबेटीका जेठो छोरा हर्षित गुलाटीले कार चलाए। आर्यन अगाडिको यात्रु सिटमा बसे। घरेबटीका अर्का छोरा २६ वर्षीय स्यांकी गुलाटी पछाडिको सिटमा आमा सुजाता गुलाटी र उनकी साथी कृति शर्माको साथमा बसे।

सडक करिबकरिब खाली थियो। जाँदाजाँदै कसैले उनीहरूलाई रोक्न खोज्यो। गुलाटी परिवार र आर्यन सवार गाडीलाई चालकले दौडाए। करिब ३० किमि लखेटिसकेपछि पछाडिको गाडीबाट गोली प्रहार भयो। जुन पछाडिबाट आर्यनको गर्धनमा लाग्यो। हर्षितले गाडी रोके, लखेट्ने मान्छेहरूले अर्को गोली चलाए। जुन उनको छातीमा लाग्यो। अस्पताल पुर्‍याउनेबित्तिकै उनको मृत्यु भयो।

यो घटनाले अहिले भारतमा आक्रोश पैदा गरेको छ। खासगरी मुस्लिम सोचेर गोली हान्दा हिन्दु युवकको ज्यान गएको अभियुक्तको भनाइ सार्वजनिक भएपछि।

‘मुसलमान सोचेर गोली हानेँ, मेरो हातबाट ब्राह्मणको हत्या हुन पुग्यो’
आफ्नो छोराको हत्या गोरक्षकले गरे भनेको सुन्दा सियानन्द मिश्राले पत्याउन सकेनन्। २८ अगस्तमा अभियुक्त पक्राउ पर्दा उनी छोराको अस्तु विसर्जन गर्न इलाहावाद पुगेका थिए।

सियानन्दले ३० अगस्तमा अभियुक्त अनिल कौशिकसँग हिरासतमा भेट गरे।

‘अनिल कौशिकलाई मेरो अगाडि ल्याइयो। उसले माफी माग्दै भन्यो– गौतस्कर सोचेर मैले गोली हानेको थिएँ। गोली बत्तिएर तपाईंको छोरालाई लाग्यो,’ सियानन्द भन्छन्, ‘अनिल कौशिकले मेरो गोडा छोयो र भन्यो, मबाट गल्ती भयो। मुसलमान सोचेर गोली हानेको थिएँ। मुसलमान मारिएको भए कुनै दुःख थिएन। मबाट ब्राह्मणको हत्या भयो। अब मलाई फाँसी भए पनि कुनै दुःख छैन।’

सियानन्द बाइक–ट्याक्सी सेवामा काम गर्छन्। आर्यन खुला स्कुल अन्तर्गत १२ कक्षाको परीक्षा दिने तयारीमा थिए।

‘आर्यन मोबाइल मर्मत गर्न पनि सिकिरहेको थियो,’ उनी भन्छन्।

‘बिहान करिब साढे ३/४ बजेतिर मेरो ठूलो छोरोलाई घरबेटीका छोराले अस्पताल जाऊँ भन्यो। हामी अस्पताल पुगेलत्तै एम्बुलेन्स आयो। मेरो छोराको शरीरमा रगत लतपत थियो। केही छिनको उसको मृत्यु भयो,’ सियानन्दले घटनाको रात सम्झिए।

आर्यन र गुलाटी परिवार सवार डस्टर कारमा रहेका स्यांकी गुलाटी हत्याप्रयासका आरोपित हुन्। त्यसैले पहिले गुलाटी परिवारले सो घटना स्यांकीसँग सम्बन्धित रहेको बतायो। तर, पछि प्रहरीले यसको कुनै सम्बन्ध नरहेको निष्कर्ष निकाल्यो।

अभियुक्त अनिल कौशिक

प्रहरीले सीसीटीभीको सहयोगमा अभियुक्त समातेको जनाएको छ। अनिल कौशिकसँगै वरुण, आदेश, कृष्णा, सौरभ शर्मा लाई समातिएको प्रहरीको भनाइ छ। 

अनिल कौशिकले भ्रममा परेर गोली चलाएको बयान दिएका छन्। प्रहरीका अनुसार उनले तीन गोली चलाएका थिए, जसमध्ये दुई गोली अनिललाई लागेको थियो। 

प्रहरीले आक्रमणकारीको उदेश्य अझै स्पष्ट भइनसकेको बताएको छ। तर, अनिल फरिदाबादमा गोरक्षकका रूपमा चिनिन्छन्। उनी ‘लिभ फर नेसन’ नामक संगठन पनि चलाउँछन्।

फरिदाबादकै एक कोलोनीमा उनको दुई तले घर छ। परिवारका सदस्य बोल्न मान्दैनन्। उनकी आमा भन्छिन्, ‘मेरो छोरोले जे गर्‍यो त्यसको इन्साफ भगवानले गर्नेछन्।’

सञ्चारमाध्यममा पनि यो घटनालाई ‘गल्तीले भएको हत्या’ का रूपमा चित्रित गरिँदैछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .