नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन्।
आज (शुक्रबार) चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसेका छन्। व्रतालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ।
पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको थियो। बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो। झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए। तीजका लागि कोषले बाहिरबाट चारवटा लामको व्यवस्था गरेको थियो।
मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उनले बताए।
पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ। कोषले तीजका अवसरमा आज व्रतालु महिलालाई मात्र प्रवेश गराएको छ। धेरैभन्दा धेरै महिला व्रतालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया