ad ad

छापा खबर


बीसीजी खोपले कोरोना नियन्त्रण गर्न सक्छ? यसो भन्छ अनुसन्धान

बीसीजी खोपले कोरोना नियन्त्रण गर्न  सक्छ? यसो भन्छ अनुसन्धान

नेपालखबर
बैशाख २, २०७७ मंगलबार २:३४,

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न यतिवेला विश्वभरका मेडिकल वैज्ञानिकहरू अनुसन्धानमा लागेका छन् ।

नयाँ औषधि र खोपको खोजी जारी छ भने पुरानै औषधि र खोपहरू कोरोनाको संक्रमणमाथि विजय हासिल गर्न उपयोगी हुन्छन् कि भन्ने अनुसन्धानसमेत भइरहेको छ।

यसैक्रममा क्षयरोग नियन्त्रणका लागि दिइने बिसिजी (ब्यासिल क्यालामेट ग्रिएन) खोप कोरोना भाइरसका लागि पनि उपयोगी हुन सक्ने चिकित्सा क्षेत्रका केही अनुसन्धाताहरूले निष्कर्ष निकालेका छन्।

बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूको समूहले बिसिजी खोप अनिवार्य नगरिएका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर १० गुणा बढी रहेको तथ्य सार्वजनिक गरेको छ।

९ देखि २४ मार्चसम्म बिसिजी खोप अनिवार्य भएका र नभएका एक सय ७८ देशको कोरोना संक्रमण र मृत्युदरसम्बन्धी तथ्यांक विश्लेषण गरी निष्कर्ष निकालिएको थियो । त्यसक्रममा खोप दिइएको देशमा प्रति १० लाखमा ३८.४ जनामा संक्रमण र मृत्युदरचाहिँ प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ रहेको पाइयो ।

खोप नदिइएका देशमा चाहिँ संक्रमण र मृत्युदर उच्च रहेको देखिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

खोप नलगाइएका देशमा प्रति १० लाखमा ३ सय ५८ जनामा संक्रमण रहेको भेटियो भने मृत्युदर पनि प्रति १० लाखमा ४० देखियो।

अमेरिकाको न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीअन्तर्गतको ‘निट कलेज अफ ओस्टे ओप्याथिक मेडिसिन’ मा आबद्ध आरोन मिल्लरसहितको एउटा समूहले बिसिजी खोप अनिवार्य बनाएका मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदरसम्बन्धी अध्ययन गरेको थियो।

सो अध्ययनको निष्कर्ष छ, ‘बिसिजी खोप अनिवार्य नगरिएका मुलुकहरू जस्तै, इटाली, नेदरल्यान्ड, अमेरिकाजस्ता मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर बढी छ भने सन् १९८४ पछि बिसिजी खोप अनिवार्य गरिएको इरानमा वृद्ध अवस्थाका मानिसमा कोरोना संक्रमणको असर बढी छ।’

यसै आधारमा उनीहरूको पनि उस्तै निष्कर्ष रह्यो, ‘बिसिजी खोप कोरोना भाइरसको संक्रमणलाई निस्तेज पार्न उपयोगी हुन सक्छ।’

कोरोना भाइरसको कुनै औषधि निर्माण र खोपको आविष्कार अझै हुन सकेको छैन । सो अनुसन्धानका आधारमा बिसिजी खोप लगाएका मुुलुकमा कोरोना भाइरसको मृत्युदर कम भएको दाबी गरिएका निष्कर्ष आउन थालेपछि कोरोना भाइरसको मारले आक्रान्त विश्वमा आशाको सञ्चार भएको छ।

यसैक्रममा अस्ट्रेलियाको मर्डोक रिसर्च इन्स्टिच्युट (एमसिआरआई) ले ‘बिसिजी खोपले कोरोना भाइरसको संक्रमणबाट बच्न उपयोगी हुन्छ कि भनेर परीक्षण सुरु गरेको रिपोर्ट चिकित्सासम्बन्धी समाचार दिने बेलायती अनलाइन पोर्टल मेडिकलन्युजटुडेडकटमले उल्लेख गरेको छ।

नेपाल पनि बिसिजी खोप अनिवार्य गरिएका मुलुकहरूकै समूहमा पर्छ।

क्षयरोग विरुद्धको बिसिजी खोप पनि खासमा प्रतिरोधी क्षमता वृद्धिका लागि दिइने खोप हो । स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा. झलक गौतमका भनाइमा यो खोपमा बिसिजी नामक ब्याक्टेरिया हुन्छ, निष्क्रिय पारिएको तर ज्युँदो प्रकृतिको यो ब्याक्टेरियाले शरीरलाई रोगसँग लड्नका लागि प्रतिरोधी क्षमता प्रदान गर्दछ।

सन् १९२१ मा पहिलोपटक आविष्कार गरिएको यो खोप नेपालमा भने ०३४ देखि नेपालीहरूलाई दिन सुरु गरिएको थियो। डा. गौतमका अनुसार सुरुवातमा सिन्धुपाल्चोक, रूपन्देही र धनुषाका बालबालिकालाई दिइएको यो खोप विभिन्न समयमा जिल्लाको संख्या बढाउँदै लगेर ०४५देखि देशव्यापी रूपमै अनिवार्य गरियो।

क्षयरोग र बिसिजीबारे जानकारी राख्ने नेपाली विशेषज्ञहरूचाहिँ यो खोप कोरोना भाइरसको रोकथामका लागि उपयोगी हुने कुरामा विश्वस्त छैनन्।

उनीहरूका भनाइमा कोरोना भाइरस संक्रमण र बिसिजी खोपबीचको सम्बन्धलाई केन्द्रमा राखेर पछिल्ला जे–जति अनुसन्धान गरिएका छन्, ती अनुसन्धानका दुई कमजोरी छन् । एक- ती अनुसन्धानको सीमा एकदम साँघुरो छ । दुई– गरिएका ती अनुसन्धान अत्यन्त प्रारम्भिक चरणमा गरिएकाले तिनले समग्र निष्कर्ष दिन सक्दैनन्।

‘बिसिजी खोप कोरोना भाइरस नियन्त्रणका लागि उपयोगी छ कि छैन भनेर अनुसन्धान गर्नेहरूले विभिन्न देशलाई प्रतिव्यक्ति आय र बिसिजी खोप अनिवार्य भए–नभएका मुलुकमा विभाजित गरी तथ्यांक संकलन गरी निष्कर्ष निकालेको देखिन्छ,’ डा. गौतम भन्छन्, ‘अनुसन्धानका विभिन्न प्रकारमध्ये यो सबैभन्दा ‘लो ग्रेड’ को विधि हो । खोप अनिवार्य भएका केही मुलुकमा संक्रमण र मृत्युदर कम देखिनु संयोग मात्र हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .