ad ad

समाज


आज अलि ठूलै हावाहुरीसहित पहाडी भेगमा पानी पर्ने सम्भावना

आज अलि ठूलै हावाहुरीसहित पहाडी भेगमा पानी पर्ने सम्भावना

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १:५३,

आज (मंगलबार) देशका सबै पहाडी भेगमा अलि ठूलै हावाहुरीसाथ वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशका सबैजसो पहाडी भूभागमा हावाहुरी, मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ।

‘प्रतिघण्टा ४८ किलोमिटर वेगमा हावा चल्ने सम्भावना देखिएको छ,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् श्रेष्ठले भने, ‘यसमा रूख हल्लाउनेसम्मको शक्ति हुन्छ, यो अलि बलियै खालको हावा हो।’

यसले धेरै ठूलो क्षति गर्ने नदेखिए पनि बाटोमा वा रूखको छेउमा छौं भने वा घरका झ्यालढोका थुनिएका छैनन् भने थुनेर सजग हुन जरुरी रहेको उनले बताए।

मौसमविद् श्रेष्ठका अनुसार यो विशेषगरी पश्चिमी वायुको प्रभावले हुने भएको हो। साथै स्थानीय रूपमा विकसित वायुसमेत यसमा मिसिँदा यो शक्तिशाली बनेको हो।

‘पश्चिमी वायु त एक/दुई दिनयतादेखि नै चलिरहेको छ,’ उनले भने, ‘तर हिजो (सोमबार) देखि यो सिस्टम अलि शक्तिशाली बनेको हो।’ 

उनका अनुसार पश्चिमी वायु पश्चिममा भारतबाट र पूर्वमा तिब्बतबाट भित्रिरहेको छ।  

‘पहाडी भेगमा हावाहुरीसहित वर्षा दिउँसो २ बजे सुरु हुने देखिए पनि ठ्याक्कै तोक्न सकिँदैन,’ उनले भने, ‘जे होस्, यहीआसपास हुने देखिन्छ।’ 

मौसमविद् श्रेष्ठका अनुसार देशभरका पहाडी भूभागसँगै काठमाडौं उपत्यकामा पनि आज दिउँसो हावाहुरी, मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। 

‘काठमाडौंमा घाम पनि देखिन सक्छ बेला बेला,’ उनले भने, ‘तर पुनः मौसम बदली भएर वर्षा हुनेछ र आज दिनभर पूरा रूपमा मौसम खुल्ने छैन।’ काठमाडौंमा मंगलबार बिहानै पनि केहीबेर हावाहुरीसहित वर्षा भएको थियो, तर यो खबर लेखिँरहदा घाम लागेको छ।

मौसमविद्का अनुसार अहिले प्रिमनसुनको अवधि भएकाले हावाहुरीसहित चट्याङ पर्ने सम्भावना पनि हुन्छ।

मौसमविद् श्रेष्ठका अनुसार हावाहुरी तथा वर्षा बढीमा आधा घण्टाको मात्र हुनेछ र वर्षा हल्का हुनेछ। ‘बीच बीचमा घाम देखिए पनि आज दिनभर मौसम पूर्ण रूपमा भने खुल्ने देखिँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .