ad ad

समाज


नयाँ वर्षको स्वागतमा तराई-मधेशमा जुडशितल पर्व मनाइँदै

नयाँ वर्षको स्वागतमा तराई-मधेशमा जुडशितल पर्व मनाइँदै

शैलेन्द्र महतो
बैशाख २, २०७७ मंगलबार १:२९,

नयाँ वर्ष २०७७ लाई स्वागत गर्दै आज (मंगलबार) लकडाउनकाबीच मिथिलाञ्चल लगायत तराई-मधेशमा जुडशितल पर्व मनाइँदैछ।

नव वर्षको अवसरमा वैशाख २ गते हरेक वर्ष तराई मधेशमा यो पर्व मनाइन्छ। आजको दिन एकाबिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठ सदस्यले आफूभन्दा सानालाई शीरमा एवं तालुमा जल सिंचित गर्दै थपथपाएर आर्शिवाद दिने प्रचलन छ।

आमाबुबा, हजुरबा, हजुरआमा, काकाकाकीसहित परिवारका जेष्ठ सदस्यले लोटा र कमण्डलुमा पानी लिएर आफ्ना घरपरिवार, छिमेक तथा समाजका आफुभन्दा सानालाई खोजी खोजी अन्जुलीमा जल लिएर तालुमा सिंचित गरी आशिर्वाद दिन्छन्।

यसो गर्दा वर्षभरि सितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास छ। आजका दिन रुखविरुवामा पनि पानी सिंचित गर्नुको साथै खेतबारीमा मलजल गर्ने तराई मधेशमा परम्परा छ।

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविदहरुको भनाई छ। नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ।

जुडशितलको अवसरमा मिथिलाञ्चलका विभिन्न स्थानमा होली पर्व जस्तै हिलोपानी खेल्ने गरिन्छ। आज एकदिन अघि नै पकाएको बासी भात चुल्हो देवतालाई चढाइन्छ। साथै घर घरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवा लगायतका मिष्ठान्न परिकार बनाएर भोज खाने प्रचलन छ।

कोरोना महामारीको प्रकोपबाट बच्न सरकारले गरेको लकडाउनको कारण यस वर्ष गाउँटोलका जेष्ठ सदस्यले घरमै बसेर फुभन्दा सानालाई पानी सिंचित गरी आशिर्वाद दिएका छन्। यस अघिका वर्षहरुमा गाउँका अग्रजहरुले टोलपडोसमा घुमेर पनि आफुभन्दा सानालाई आशिर्वाद दिने गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .